बुधबार, भाद्र ३ गते २०८३

समस्याग्रस्त पाँच सहकारीका बचतकर्तालाई दाबी पेश गर्न ३० दिनकाे समय


आषाढ ४, २०८३ बिहीबार
समस्याग्रस्त पाँच सहकारीका बचतकर्तालाई दाबी पेश गर्न ३० दिनकाे समय

 

काठमाडौं । बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका पाँच वटा सहकारी संस्थाका बचतकर्ता, सदस्य तथा साहुहरूलाई आफूले पाउनुपर्ने रकमको दाबी पेश गर्न आह्वान गरेको छ।

समितिले सार्वजनिक सूचना जारी गर्दै बागमती प्रदेश सहकारी ऐन, २०७६ अनुसार समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रियाका लागि सम्बन्धित बचतकर्ता, सदस्य र साहुहरूले आफ्नो दाबी अनलाइनमार्फत पेश गर्नुपर्ने जनाएको हो।

सूचनाअनुसार दाबी पेश गर्नुपर्ने संस्थाहरूमा काठमाडौंको सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौंको खुसीबुँस्थित ललितपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गोंगबुस्थित नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा ललितपुरको पुल्चोकस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।

समितिले सूचना पुनः प्रकाशन भएको मितिबाट ३० दिनभित्र आफ्नो दाबी पेश गर्न आग्रह गरेको छ। दाबी समितिको वेबसाइटमार्फत अनलाइन रूपमा दर्ता गर्न सकिने जनाइएको छ।

समितिका अनुसार बागमती प्रदेश सरकारले विभिन्न मितिमा ती सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन तथा दायित्व भुक्तानीको जिम्मेवारी समितिलाई दिएको छ। त्यसैअनुसार बचतकर्ताले फिर्ता पाउनुपर्ने रकम तथा अन्य दाबीहरूको विवरण संकलन गर्न यो सूचना जारी गरिएको हो।

समितिले निर्धारित समयभित्र अनलाइन आवेदन पेश गरी आफ्नो दाबी सुरक्षित गर्न सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ।