काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आठौँ वार्षिक साधारण सभाले बैंकको प्राथमिक पुँजीकोष (टियर १ क्यापिटल) थप सुदृढ बनाउने उद्देश्यसहित २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार (प्रिफेरेन्स) सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकको मुख्य कार्यालयमा सम्पन्न साधारण सभाले बैंकको पूँजी आधार मजबुत बनाउँदै व्यवसाय विस्तार तथा जोखिम वहन क्षमता वृद्धि गर्ने रणनीतिअन्तर्गत उक्त निर्णय अनुमोदन गरेको छ।
बैंकका अध्यक्ष प्रबल जङ्ग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले प्रिफेरेन्स सेयर निष्कासनसँगै बैंकको दीर्घकालीन वित्तीय क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ। बैंकले पछिल्ला वर्षहरूमा व्यवसाय विस्तारसँगै नियामकीय पूँजी आवश्यकतालाई समेत ध्यानमा राखेर पूँजी संरचना थप सुदृढ गर्ने नीति अवलम्बन गरेको जनाएको छ।
साधारण सभाले सञ्चालक समितिमा चार जना सञ्चालकसमेत निर्वाचित गरेको छ। संस्थापक समूह ‘क’ बाट अनिलकुमार ज्ञवाली निर्वाचित भएका छन् भने सर्वसाधारण समूह ‘ख’ बाट प्रकाशचन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हिमादेवी खड्का केसी सञ्चालकमा चयन भएका छन्।
नेपालपत्र संवाददाता