शुक्रबार, कार्तिक ७ गते २०८३

नयाँ विशेषतासहितको ५०० रुपैयाँको बैंकनोट प्रचलनमा


आषाढ ३, २०८३ बुधबार
नयाँ विशेषतासहितको ५०० रुपैयाँको बैंकनोट प्रचलनमा

 

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहितको ५०० रुपैयाँ दरको बैंकनोट असार ३ गतेदेखि प्रचलनमा ल्याउने भएको छ। मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै साविककै आकार र रङमा तर केही परिमार्जित विशेषतासहितको ५०० रुपैयाँको नोट चलनचल्तीमा ल्याउन लागिएको जनाएको हो। नयाँ नोटमा हस्ताक्षर, वर्ष तथा केही सुरक्षा चिन्हहरू अद्यावधिक गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ बैंकनोटको अगाडिको भागमा “श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसका रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ पाँच सय तुरुन्त पाइने छ” भन्ने प्रतिज्ञात्मक वाक्यांश उल्लेख गरिएको छ। नोटको बायाँ भागमा सगरमाथाको चित्र तथा दायाँ भागमा लालीगुराँसको पानीछाप रहने व्यवस्था गरिएको छ।

नोटमा वि.सं. २०८२ अंकित गरिएको छ भने दृष्टिविहीन व्यक्तिले नोट सजिलै पहिचान गर्न सक्ने गरी फरक क्षमता भएका स्पर्श चिन्ह (ट्याक्टाइल मार्क) समेत राखिएको छ। साथै, सगरमाथाको दायाँपट्टि कोण परिवर्तन गर्दा सुनौलो र हरियो देखिने सुरक्षा चिन्ह तथा ३.५ मिलिमिटर चौडाइको सुरक्षा धागो समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ।नयाँ नोटमा राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहनेछ। यस्तै, नोटको पछाडिको भागमा पाटेबाघको चित्र राखिएको छ। 

राष्ट्र बैंकले यसअघि प्रकाशित सूचनामा ५०० रुपैयाँ दरको (सिरिज २०२०) बैंकनोटका क्रमसंख्या सम्बन्धी विवरणमा त्रुटि भएको जनाउँदै त्यसलाई सच्याइएको पनि स्पष्ट गरेको छ। नयाँ बैंक नोट असार ३ गतेदेखि सर्वसाधारणको प्रयोगका लागि उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।