काठमाडौं, समस्याग्रस्त घोषित दुई सहकारी संस्थाका १३२ जना ऋणीको नामावली सार्वजनिक गरिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडका १२ जना र कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका १२० जना गरी कुल १३२ जना ऋणीको नाम सार्वजनिक गरेको हो। समितिका अनुसार २०८३ वैशाख २३ गतेको निर्णय तथा उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो।
समितिले ऋण चुक्ता गरिसकेका भए पनि नामावलीमा नाम समावेश भएका व्यक्तिलाई आवश्यक प्रमाणसहित कार्यालयमा उपस्थित भई विवरण सच्याउन आग्रह गरेको छ। त्यसैगरी बाँकी ऋण तिर्न बाँकी रहेका ऋणीलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न सूचित गरिएको छ। समितिले तोकिएको समयभित्र ऋण दायित्व पूरा नगरेमा प्रचलित कानुनबमोजिम असुली तथा अन्य कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
समस्याग्रस्त सहकारीहरूको सम्पत्ति तथा दायित्व व्यवस्थापन, बचतकर्ताको रकम फिर्ता प्रक्रिया र ऋण असुलीलाई प्रभावकारी बनाउन समितिले पछिल्लो समय ऋणीहरूको विवरण सार्वजनिक गर्ने तथा असुली प्रक्रिया तीव्र बनाउने कार्यलाई निरन्तरता दिँदै आएको छ।
नेपालपत्र संवाददाता