शनिबार, आश्विन १७ गते २०८३

बुद्धिजीवीहरूको संघर्ष : इतिहास, वर्तमान र भविष्यवारे


जेठ २६, २०८३ मंगलबार
बुद्धिजीवीहरूको संघर्ष : इतिहास, वर्तमान र भविष्यवारे
लक्ष्मण उप्रेती
मानव समाजको इतिहास उत्पादन, श्रम, वर्गसंघर्षको इतिहास हो। यही इतिहासभित्र विचार, ज्ञान, दर्शन, साहित्य, संस्कृति र राजनीतिका क्षेत्रहरू पनि विकसित हुँदै आएका छन्। बुद्धिजीवीहरूको इतिहासलाई समाजको समग्र इतिहासबाट अलग गरेर बुझ्न सकिँदैन। द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादका अनुसार कुनै पनि विचार, दर्शन वा ज्ञान शून्यबाट जन्मिँदैन; त्यो निश्चित भौतिक परिस्थिति, उत्पादन सम्बन्ध र वर्गीय आवश्यकताबाट जन्मिन्छ। त्यसैले बुद्धिजीवी पनि कुनै स्वतन्त्र वा वर्गभन्दा माथिको शक्ति होइनन्। उनीहरू समाजभित्र विद्यमान वर्गीय सम्बन्ध र संघर्षका प्रभावबाट मुक्त हुन सक्दैनन्।
इतिहासमा ज्ञानको उत्पादन र वितरणमाथि सत्ताधारी वर्गको नियन्त्रण रहँदै आएको छ। प्राचीन दास समाजमा धर्मगुरु, पुरोहित र दरबारीया लेखकहरूले शासक वर्गको हितअनुसार विचार निर्माण एवं उत्पादन गर्थे।सामन्तवादमा पनि यही परम्परा जारी रह्यो। तर समाज विकासको क्रममा नयाँ उत्पादन शक्तिहरू जन्मिए, नयाँ वर्गहरू देखा परे र ति सँगै नयाँ विचारहरू पनि विकसित भए। यसरी बुद्धिजीवीहरूको संसार स्वयं वर्गसंघर्षको क्षेत्र बन्न पुग्यो।
पुँजीवादको उदयसँगै युरोपमा वैज्ञानिक चेतना, मानवतावादी आन्दोलनको विकास भयो। सामन्ती अन्धविश्वास र धार्मिक निरंकुशताको विरुद्ध बुद्धिजीवीहरूले महत्वपूर्ण भूमिका खेले। तर पुँजीवादी व्यवस्था स्थापित भएपछि तीमध्ये धेरै बुद्धिजीवीहरू नयाँ शासक वर्ग अर्थात् पुँजीपति वर्गको वैचारिक प्रतिनिधि बने। यही तथ्यले देखाउँछ कि ज्ञान आफैंमा न क्रान्तिकारी हुन्छ, न प्रतिक्रियावादी। ज्ञानको वर्गीय दिशा र सामाजिक उद्देश्यले त्यसको चरित्र निर्धारण गर्छ।
कार्ल मार्क्स र फ्रेडरिक ऐङेल्सले बुद्धिजीवीको प्रश्नलाई वैज्ञानिक आधारमा व्याख्या गरे। उनीहरूले समाजको आर्थिक आधार र वैचारिक अधिरचनाबीचको सम्बन्ध स्पष्ट गरे। मार्क्स स्वयं असाधारण बुद्धिजीवी थिए, तर उनको ज्ञान पुस्तकालयको चार भित्ताभित्र मात्र सिमित रहेन। उनले दर्शनलाई सामाजिक परिवर्तनको साधन बनाए। उनका लागि संसारको व्याख्या मात्र पर्याप्त थिएन; त्यसलाई परिवर्तन गर्नु आवश्यक थियो। यहीँबाट क्रान्तिकारी बुद्धिजीवीको वास्तविक र बैज्ञानिक पहिचान आर्म्भ हुन्छ।
लेनिनले वैज्ञानिक समाजवादी चेतना र मजदुर आन्दोलनबीचको सम्बन्धलाई स्पष्ट गर्दै बुद्धिजीवीहरूको जिम्मेवारीलाई नयाँ उचाइमा पुर्‍याए। उनले सिद्धान्त र व्यवहारको एकतालाई जोड दिए। लेनिनका लागि बुद्धिजीवीको भूमिका जनताको संघर्षलाई वैज्ञानिक दिशा दिनु थियो, जनताभन्दा माथिल्लो श्रेणीमा उभिनु थिएन। उनले बारम्बार चेतावनी दिए र भने कि जनताबाट अलग भएको बुद्धिजीवी अन्ततः घमण्ड, आत्मसन्तुष्टि र यथास्थितिवादको शिकार बन्छ।
स्टालिनको नेतृत्वमा समाजवादी निर्माणको प्रक्रियाले शिक्षा, विज्ञान र प्रविधिलाई जनताको पहुँचमा पुर्‍याउने प्रयास गर्‍यो। ज्ञानलाई सीमित वर्गको विशेषाधिकारबाट निकालेर श्रमिक जनताको सम्पत्ति बनाउने ऐतिहासिक प्रयास सोभियत समाजवादको महत्वपूर्ण उपलब्धि थियो।
माओत्सेतुङले बुद्धिजीवीको प्रश्नलाई अझ गम्भीर गहिराइवाट उठाए, उनका अनुसार ज्ञानको मूल स्रोत जनता हुन्। खेत, कारखाना, गाउँ र संघर्षको मैदानबाट टाढा रहेको बुद्धिजीवीले समाजलाई बुझ्न सक्दैन। त्यसैले माओले "जनताबाट सिक्ने र जनतामा फर्कने" सिद्धान्त विकसित गरे। उनले बुद्धिजीवीलाई श्रम, संघर्ष र जनजीवनसँग जोड्न जोड दिए।
ग्राम्सीले "अर्गानिक बुद्धिजीवी" को अवधारणा विकास गर्दै शासक वर्ग र श्रमिक वर्गका बुद्धिजीवीबीचको अन्तर स्पष्ट गरे। ग्राम्सीका अनुसार हरेक वर्गले आफ्ना विचारक र सांस्कृतिक प्रतिनिधि उत्पादन गर्छ। शासक वर्गले आफ्नो प्रभुत्व कायम राख्न विचार र संस्कृतिको प्रयोग गर्छ भने उत्पीडित वर्गले आफ्नो मुक्ति आन्दोलनका लागि वैकल्पिक चेतना निर्माण गर्नुपर्छ भन्ने विचार अघिसारे।
होची मिन्हले लेखन, शिक्षा, संगठन र जनयुद्धलाई एउटै क्रान्तिकारी प्रक्रियाका विभिन्न पक्षका रूपमा विकास गरे। उनले ज्ञानलाई जनताको संघर्षसँग जोडेर प्रयोग गरे।
साहित्य र संस्कृतिको क्षेत्रमा पनि बुद्धिजीवीहरूको संघर्ष अत्यन्त महत्वपूर्ण रह्यो। म्याक्सिम गोर्कीले श्रमिक वर्गको जीवनलाई साहित्यको केन्द्रमा ल्याए। उनका पात्रहरू शोषित वर्गको आवाज बने। राहुल सांकृत्यायन ले दक्षिण एशियामा वैज्ञानिक चिन्तन, इतिहास चेतना र समाजवादी दृष्टिकोणको विकासमा महत्वपूर्ण योगदान दिए। लुसुनले सामन्ती संस्कार, मानसिक दासता र सांस्कृतिक पतनविरुद्ध साहित्यिक संघर्ष गरे। उनका रचनाहरूले चिनियाँ समाजमा वैचारिक जागरणको महत्वपूर्ण भूमिका खेले।
नेपालको सन्दर्भमा पुष्पलालले वैज्ञानिक समाजवादलाई नेपाली धरातलमा स्थापित गर्ने ऐतिहासिक भूमिका खेले। उनले नेपाली समाजको वर्गीय विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनको वैचारिक आधार निर्माण गरे र नयाँ जनवादी क्रान्तिको कार्यक्रम अघि सारे। पुष्पलालको विशेषता सिद्धान्त र जनआन्दोलनबीचको सम्बन्धलाई जोड्नु थियो। उहाँले बुद्धिजीवीहरूकाे सम्मेलनमा प्रष्ट भन्नु भयाे -उनीहरू श्रमकाे उपज भएकाे हुनाले उनीहरूले श्रमकाे सेवा गर्नुपर्ने हुन्छ ।
निर्मल लामाले नेपाली समाजको विशिष्टता, राष्ट्रिय प्रश्न र क्रान्तिको दिशाबारे गम्भीर वैचारिक बहसहरू अगाडि बढाए। उनले विचारलाई संगठनात्मक संघर्षसँग जोड्ने प्रयास गरे। नेपाली वाम आन्दोलनमा गहिरो अध्ययन, वैचारिक दृढता र आलोचनात्मक सोचको परम्परा निर्माण गर्न उनको योगदान उल्लेखनीय छ।
मोहन वैद्य को भूमिका नेपाली कम्युनिष्ट आन्दोलनमा विशेष रूपमा उल्लेखनीय छ। उनले लामो समयसम्म संशोधनवाद, संसदीय अवसरवाद र क्रान्तिकारी आन्दोलनको विचलनविरुद्ध संघर्ष गरे। माओवादी आन्दोलनको वैचारिक निर्माण, जनयुद्धको तयारी र क्रान्तिकारी धाराको संरक्षणमा उनको योगदान महत्वपूर्ण मानिन्छ। विशेषतः नेपाली समाजको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चरित्रबारेको बहस र नयाँ जनवादी क्रान्तिको आवश्यकताबारे उनले निरन्तर जोड दिए।
त्यसैगरी मोहन बिक्रम सिंह नेपाली कम्युनिष्ट आन्दोलनका दीर्घकालीन वैचारिक योद्धा हुन्। उनले दशकौँसम्म कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी विचलन, संसदीय मोह र वर्गसम्झौतावादको आलोचना गरे। नेपाली कम्युनिष्ट आन्दोलनमा वैचारिक बहस, संगठनात्मक निरन्तरता र मार्क्सवादी अध्ययनको संस्कृतिलाई जीवित राख्न उनको योगदान महत्वपूर्ण छ। विभिन्न उतारचढावका बीच पनि उनले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नहरूलाई निरन्तर उठाइरहे। यसरी नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा एउटा महत्वपूर्ण तथ्य देखिन्छ ,संगठनहरू फुटे, पुनर्गठन भए, नेतृत्वहरू बदलिए, कार्यदिशाहरू फेरिए; तर वैचारिक संघर्ष कहिल्यै समाप्त भएन। यही वैचारिक संघर्षले नेपाली बुद्धिजीवीहरूको भूमिकालाई पनि निरन्तर पुनर्परिभाषित गरिरह्यो। जब बुद्धिजीवीहरू जनताको जीवन, श्रम र संघर्षसँग जोडिए, तब उनीहरूले आन्दोलनलाई सहि दिशा दिए। तर जब उनीहरू जनताभन्दा माथि आफूलाई विशेष ठान्न थाले, तब उनीहरू जनजीवनबाट टाढिए र आन्दोलन कमजोर भयो।
आजको विश्वमा बुद्धिजीवीहरूको संघर्ष नयाँ स्वरूपमा अगाडि बढिरहेको छ। सञ्चारमाध्यम, विश्वविद्यालय, अनुसन्धान संस्था, गैरसरकारी संरचना, सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ताले ज्ञान उत्पादनको स्वरूप बदलिदिएको छ। सूचना बढेको छ, तर सत्य झन् जटिल बनेको छ। विचारको स्वतन्त्रता बढेको देखिन्छ, तर विचारमाथिको आर्थिक नियन्त्रण पनि तीव्र भएको छ। विश्वविद्यालयहरू पूजीवादी प्रभावमा छन्, अनुसन्धानहरू बहुराष्ट्रिय कम्पनीहरूको हितसँग जोडिँदै गएका छन् र संस्कृतिको ठूलो हिस्सा उपभोगतावादी बजारको वस्तु बन्दै गएको छ।
यही कारणले आज बुद्धिजीवीहरूको मुख्य संघर्ष ज्ञानको स्वामित्व र सहि दिशाको संघर्ष बनेको छ। ज्ञान मानव मुक्तिको साधन बन्ने कि मुनाफाको साधन बन्ने? विज्ञान मानव हितमा प्रयोग हुने कि युद्ध र शोषणका लागि? संस्कृति जनताको चेतना विकास गर्ने कि उपभोगतावादको प्रचार गर्ने? यिनै प्रश्नहरू वर्तमान युगका केन्द्रीय प्रश्न हुन्।
भविष्यको बुद्धिजीवी त्यो हुनेछ जसले विज्ञानलाई मानवतासँग, साहित्यलाई जीवनसँग, संस्कृतिलाई जनतासँग र सिद्धान्तलाई व्यवहारसँग जोड्न सक्नेछ। भविष्यको क्रान्तिकारी बुद्धिजीवी नै आजको समाजको सक्रिय सहभागी हुनेछ। उसले ज्ञानलाई प्रतिष्ठा प्राप्त गर्ने माध्यम होइन, सामाजिक रूपान्तरणको साधन बनाउनेछ।
गौतम बुद्ध मानव सभ्यताको प्रारम्भिक दार्शनिक,बुद्धिजीवी परम्पराको अत्यन्त महत्वपूर्ण ऐतिहासिक कडी हुन्। गौतम बुद्ध आफ्नो युगका महान दार्शनिक, तर्कशील चिन्तक र सामाजिक आलोचक थिए। उनले जन्मका आधारमा श्रेष्ठता स्थापित गर्ने वर्णव्यवस्था, ब्राह्मणवादी कर्मकाण्ड र धार्मिक एकाधिकारमाथि गम्भीर प्रश्न उठाए। उनले तर्क, अनुभव र आत्मपरीक्षणलाई सत्य खोज्ने आधार बनाए। यस अर्थमा उनी आफ्नो समयका अत्यन्त प्रगतिशील बुद्धिजीवी थिए। तर ऐतिहासिक प्रक्रियामा उनका विचारहरू पछि संस्थागत धर्मको रूप लिँदै गए, जसले उनको मूल दार्शनिक–आलोचनात्मक धारलाई क्रमशः धार्मिक आस्था, पूजा र कर्मकाण्डले ढाक्दै लग्यो। यसरी एक महान तर्कवादी चिन्तकलाई इतिहासले धार्मिक प्रतीकमा रूपान्तरण गर्‍यो। उनको दार्शनिक सीमितता के थियो भने उनले दुःखको मूल कारण मुख्यतः व्यक्तिगत चेतना, इच्छा र नैतिक अवस्थाहरूमा केन्द्रित गरे, जबकि पछि विकसित मार्क्सवादी दृष्टिले त्यसको मूल कारण उत्पादन सम्बन्ध र वर्गीय शोषणमा देख्यो। तर यसले उनको ऐतिहासिक योगदानलाई नकार्दैन; बरु उनलाई मानव इतिहासमा आलोचनात्मक चेतनाको प्रारम्भिक महान प्रतिनिधिका रूपमा स्थापित गर्छ।
अन्ततः बुद्धिजीवीहरूको संघर्ष विचारको मात्र संघर्ष होइन; यो समाजको दिशा निर्धारण गर्ने संघर्ष हो। मार्क्सदेखि माओसम्म, ग्राम्सीदेखि होचिमिन्हसम्म, गोर्कीदेखि लुसुनसम्म, पुष्पलालदेखि निर्मल लामा, मोहन वैद्य "किरण" र मोहन विक्रम सिंहसम्म फैलिएको यो परम्पराले एउटा साझा सन्देश दिन्छ,ज्ञान तब मात्र ऐतिहासिक शक्ति बन्छ, जब त्यो जनताको जीवन, श्रम, पीडा, सपना र मुक्तिको आकांक्षासँग जोडिन्छ। जनताबाट टाढिएका बुद्धिजीवीहर अन्ततः इतिहासको किनारामा धकेलिन्छ्न र हराउछ्न, श्रमजीवी जनतासँग जोडिएका बुद्धिजीवीहरु नै इतिहास निर्माण गर्ने अनिवार्य शक्तिको हिस्सा बदन्छन्।