शनिबार, आश्विन १७ गते २०८३

सहकारीमा डिजिटल रुपान्तरणः अवसर र चुनाैति

मंसिर १४, २०७८ मंगलबार
सहकारीमा डिजिटल रुपान्तरणः अवसर र चुनाैति

 

कोभिड १९ महामारीको दौरान सहकारीका सदस्यहरुबाट पूर्ण रुपमा डिजिटल बैंकिङ्ग सेवाको माग गरिएको पाइयो । सहकारी संस्थाहरुले पहिले देखिनै मोबाईल बैंकिङ्ग प्लेटफर्म, एटिएम तथा कतिपय म्यानुअल कामहरुलाई स्वचालित रुपमा सम्पादन गर्ने प्रविधिहरुको सुरुवात गरेका छन् तर यो पर्याप्त भने थिएन । सहकारीहरुले शुरुवात गरेको विभिन्न डिजिटल सेवाहरु सदस्यहरुले पूर्ण रुपमा प्रयोग गरेका थिएनन् वा धेरै सदस्यहरुले यसको उपयोग गरेका थिएनन् । सहकारी संस्थाहरुले हमेशा सदस्य सेवालाई प्राथमिकता दिइरह्यो र आफ्ना सेवाहरुद्वारा बैंक भन्दा फरक रहेको अनुभूति दिलाई रह्यो । तर कोभिड १९ को महामारीले मानिसहरुमा नयाँ बानीको अभ्यास गराइदियो जस अनुसार मानिसहरु एक ठाउँमा बसेर धेरै ठाउँको कामहरु सम्पन्न गर्न चाहन्छन् भन्ने देखायो । यसबाट के बुझ्न सकिन्छ भने अब सहकारीका सदस्यहरु सन् २०२० भन्दा अगाडिको समयमा जस्तोे मुख्य कार्यालय र सेवाकेन्द्रहरुमा भौतिक रुपमा उपस्थित हुन कम मात्र रुचि राख्नेछन् । एक अध्ययनले ५५% सदस्यहरु सहकारीको कार्यालयमा उपस्थित नभई सेवा लिन चाहन्छन् भन्ने देखाएको छ । त्यसैले प्रतिस्पर्धामा खरो उत्रन सहकारी संस्थाहरुले डिजिटल रुपान्तरणमा लगानी गर्नुपर्ने देखिन्छ जसले सदस्यहरुलाई सहकारीसंग जोडिरहन मद्दत पुर्याउनेछ र संस्थाको कार्यसञ्चालन कुशलता तथा उत्तोलन वृद्धि गर्नेछ ।  

भर्खरै सम्पन्न भएको विश्व ऋण परिषद (WOCCU) को एक सम्मेलनमा बचत तथा ऋण सहकारी संस्थाहरु (Credit Unions) मा डिजिटल रुपान्तरको विषय उजागर भएको थियो । विश्व परिवेश सँगै नेपालमा पनि सहकारी संस्थाहरुमा प्रविधियुक्त सेवाको विषय महत्वका साथ लिइन थालिएको छ । कोभिड १९ महामारीले धेरै क्षेत्रमा चुनौती खडा गरेता पनि सूचना प्रविधिको क्षेत्रमा भने अवसरहरु सृजना गरेको छ । दशौं वर्षदेखि सहकारी संस्थाहरुले प्रविधियुक्त सेवाको बारेमा बहस गरिरहेको तर डिजिटल रुपान्तरणमा जान नसकेको परिप्रेक्ष्यमा कोभिड १९ को महामारीले उक्त सोचहरुलाई तीव्र गतिमा कार्यान्वयनमा ल्याउन मद्दत पुर्याएकाे छ । 

डिजिटल रुपान्तरणः

एनालग स्वरुपबाट डिजिटल स्वरुपमा परिवर्तन हुने प्रक्रियालाई सामान्यतया डिजिटल रुपान्तरण भनेर बुझ्न सकिन्छ । बचत तथा ऋण सहकारी संस्थाहरुको लागि डिजिटल रुपान्तरण भन्नाले सेवा प्रवाहमा नविनतम प्रविधिहरुको कार्यान्वयन गर्ने प्रक्रियालाई बुझाउँदछ । अर्को शब्दमा भनौं भने यो कुनै नविन प्रविधिहरु स्थापना गर्नु र कागजपत्रहरुलाई विभिन्न एप्लिकेसनहरुद्वारा डिजिटाइज गर्ने प्रक्रिया मात्र नभएर कुनै प्रविधिहरुमा लगानी गर्नु र सोलाई स्थापना गर्नु पूर्व पुनर्विचार गर्ने प्रक्रिया पनि हो । अहिले डिजिटल रुपान्तरण स्वरुप Robotic Process Automation (RPA), Artificial Intelligence and Predictive Analysis (AI)  / Business Intelligence and Big data visualization (BI)  जस्ता औजारहरु (Tools) प्रयोगमा ल्याउन थालिएका छन् । 

डिजिटल रुपान्तरणबाट हुने लाभः

डिजिटल रुपान्तरण चुस्त प्रविधिहरुमा आधारित एक फरक प्रकारको प्रविधि सम्बन्धी योजना हो जसबाट डिजिटाइजेसनको लाभ सिघ्र प्राप्त गर्न सकिन्छ । डिजिटल रुपान्तरणलाई हामीले गन्तब्यको रुपमा नभई एउटा यात्राको रुपमा लिनु पर्दछ । यदि आर्थिक कारण, सदस्यहरुको बदलिँदो गतिशीलता या अनपेक्षित विश्वव्यापी कुनै महामारीका कारण यसको कार्यप्रणाली परिवर्तन गर्न आवश्यक भयो भने कुनै पनि समय यसलाई परिवर्तन गर्न सकिने ललिचोपन हुन्छ । सहकारीहरुमा डिजिटल रुपान्तरणबाट हुने लाभ संक्षेपमा चर्चा गरिएको छ । 

सुदृढ कार्यदक्षता र कार्यप्रवाहः

सहकारीका तथ्याङ्कहरुको डिजिटाइजेसनले हातले गर्ने कार्यहरुलाई स्वचालित प्रविधिद्वारा गर्ने प्रक्रियामा रुपान्तरण गर्दछ । उदाहरणको लागि खातापातामा लेखिएको तथ्याङ्कहरुलाई स्वचालित रुपमा प्रविष्टि गर्नको लागि Optical Character Recognition (OCR) / Magnetic Ink Character Reader (MICR) को प्रयोग गर्न सकिन्छ । त्यसका साथै संस्थाको कार्य प्रवाह र कर्मचारीहरुलाई प्रदान गरिएको नियमित कार्यविवरणहरुको विश्लेषण गर्न समेत प्रविधिहरुको प्रयोग गर्न सकिन्छ । 

सदस्य तथा कर्मचारीहरुको सन्तुष्टी अभिवृद्धिः

उच्चस्तरीय प्रविधिहरुको प्रयोग गर्नुको उद्देश्य सहकारी संस्थामा  सदस्य तथा कर्मचारीहरुको अनुभुतिलाई राम्रो बनाउनु हो । सदस्यहरुले सजिलै जानकारीहरु प्राप्त गरुन र कर्मचारीहरुले बिना झण्झट सेवा प्रदान गर्न सकुन् भन्ने यसको उद्देश्य रहन्छ । उदाहरणको लागि कोभिड १९ को महामारी जस्तो कारणबाट लकडाउन वा निषेधाज्ञा जस्तो अवधिमा सेवा लिनको लागि कार्यालय खुले नखुलेको जानकारी प्राप्त गर्नको लागि RPA (Robotic Process Automation) को प्रयोग गर्न सकिन्छ । 

सदस्यहरुको आकर्षण र प्रतिधारणः

कोभिड १९ को महामारीले सदस्यहरुमा प्रविधिको प्रयोगदर वृद्धि गरेको छ । सहकारीका सेवाहरुको लागि सदस्यहरुले विभिन्न एप्लिकेसनहरुको प्रयोग गर्न खोज्दछन् । हाल सहकारीका सेवाग्राहीहरु सदस्यता र ऋण लिन मात्रै सहकारीको शाखा धाउने तर त्यसपछि बैंकिङ्ग कारोबार शाखारहित गर्न नै रुचाउन थालेको पाइन्छ । तर सदस्यले खोजेको प्रविधि हामीसँग उपलब्ध छैन भने उपलब्ध भएको अर्को सहकारी वा बैंकमा स्थानान्तरण हुने सम्भावना हुन्छ ।

तीब्र गतिमा सेवाः

बैंकिङ्ग वा बचत तथा ऋण सहकारी संस्थाहरुको विशाल तथ्यांक आधार व्यवस्थापन गर्नको लागि प्रयोग गरिँदै आएको परम्परागत प्रविधि र प्रणालीहरुको महत्व धेरै ठूलो छ । तर तिनीहरुमा लचकताको  सीमितता र समग्र प्रक्रियामा निर्भर रहनुपर्ने बाध्यता रहन्छ । सदस्यहरु कारोबारको तत्काल प्रतिक्रिया चाहन्छन् । मोबाईल बैंकिङ्गबाट गरिएको कारोबार अनलाईन बैंकिङ्गमा तुरुन्त देखिएन भने उनीहरुले सहकारीको प्रणालीमा विश्वास गर्दैनन् । त्यसकारण डिजिटल रुपान्तरण भनेको एक अर्थमा सही अर्थको ओम्नी च्यानल बैंकिङ्ग (Omni Channel Banking) हो, जसले कुनै एक माध्यमबाट अनलाईन कारोबार हुने वित्तिकै सोही समयमा अर्को माध्यममा उक्त कारोबारलाई प्रतिविम्बित गर्ने गर्दछ । मानिसहरु यति छिटो प्रतिक्रिया खोजिरहेका हुन्छन् कि अहिले कारोबार गरेर अहिले नै त्यसको परिणाम दिनुपर्ने हुन्छ । ओम्नी च्यानल प्रविधि नेपालमा बैंकिङ्ग क्षेत्रमा भर्खर प्रयोगमा आउन लागेको प्रविधि हो । चन्द्रागिरि साकोसले पनि यसको परीक्षण सेवा सुरु गरेको छ, जस अन्तर्गत एउटै लगईन आई.डि. र पासवर्डले मोबाईल एप तथा ईन्टरनेट बैंकिङ्ग (वेब ब्राउजर) दुवैमा लगईन गरी सेवा लिन सकिन्छ । 

मुख्य प्रविधि प्रदायक प्रतिको निर्भरतामा कमीः

अधिकांश सहकारीहरुले प्रयोग गरिरहेका कोर बैंकिङ्ग प्रणालीनै डिजिटल रुपान्तरको बाधक रहेको पाइन्छ । थोरै सेवा प्रदायकहरुले मात्र समय सापेक्ष प्रविधिहरु आफ्नो कोर बैंकिङ्ग प्रणालीमा संलग्न गरेका हुन्छन् । जब समय सापेक्ष प्रविधिहरु जडान गर्ने प्रस्तावहरु गरिन्छ तब सेवा प्रदायकहरुले सफ्ट्वेयर प्रणालीको अगाडि देखिने स्वरुप (Front End Part) लाई आकर्षक बनाएर देखाउँछन् तर भित्री पाटोमा गर्नुपर्ने सुधारको कुरा एउटा दिवास्वप्न जस्तो मात्र भईदिन्छ । कुनै सुधार गर्ने वा समस्या समाधान गर्ने कुरा सेवा प्रदायकको तजविजीमा भर पर्ने हुन्छ । तसर्थ डिजिटल रुपान्तरणमा जानु भनेको नै मुख्य प्रविधि प्रदायकसँगको निर्भरतामा कमी गर्दै जानु हो । 

शीघ्र कार्यान्वयनः

सहकारी संस्थाले कुनै एउटा नयाँ सेवा आफ्नो मोबाईल बैंकिङ्ग सेवामा जोड्ने निर्णय गर्छ र सेवा प्रदायकलाई उक्त विशेषताको लागि अनुरोध गर्छ । सेवा प्रदायकले उक्त विशेषता थप गरी सञ्चालन योग्य बनाउन्जेल बजारमा प्रतिस्पर्धीले उक्त विशेषता प्रचलनमा ल्याउन सफल भईसक्छ । हाम्रो प्रविधिको गुणस्तर यस प्रकार रहेको छ । तसर्थ डिजिटल रुपान्तरणले केही हप्ता भित्र नै आवश्यक विशेषताहरु सहितको सेवा शुरुवात गर्न सहकारी संस्थाहरुलाई योग्य बनाउँछ । 

 

डिजिटल रुपान्तरणका चुनौति

 

उपयुक्त कानूनी वातावरणको अभावः

बचत तथा ऋण सहकारी संस्था र बैंकहरुले गर्ने व्यवसाय एउटै खालको छ, भलै सहकारीहरु बैंक भन्दा मुलभूत रुपमै भिन्न छन् । सहकारीको अवधारणा र सेवा क्षेत्र धेरै फराकिलो छ । तर वित्तीय पक्ष यसको प्रमुख विषय हो । जब सहकारीहरुले वित्तीय सेवा दिन्छन् यसका सदस्यहरुले समय सापेक्ष प्रविधियुक्त सेवाको माग गर्दछन् तर प्रविधियुक्त सेवाको लागि नेपालमा उपयुक्त कानूनी वातावरण बन्न सकेको छैन । सहकारी संस्थाहरुलाई डिजिटल कारोबारको अनुमती दिने, सोको व्यवस्थापन गर्ने र नियमन गर्ने ऐन बन्न सकेको छैन । नेपाल राष्ट्र बैंक प्रत्यक्ष रुपमा सहकारी संस्थालाई सोको अनुमति दिन चाहँदैन र सहकारी विभागसँग सो सम्बन्धी नियमन गर्न कानूनी र प्राविधिक स्रोत छैन । 

दक्ष जनशक्तिको अभावः

दशौं वर्षदेखि सञ्चालन हुँदै आईरहेको वित्त प्रविधिको लागि सीपयुक्त जनशक्तिको सानो बजार हिस्सा मात्र उपलब्ध छ । उदाहरणको लागि COBOL Programing Language कलेजहरुमा पनि पढाई भएको थाहा छैन । सहकारीका सूचना प्रविधि सम्बन्धी कर्मचारीहरुले विरलै मात्र COBOL Programing कोड जानेका होलान् । दक्ष जनशक्तिकै अभावले अन्य स्रोतहरुको व्यवस्थापन भएता पनि समयमा अपेक्षित फड्को मार्न सकिने अवस्था देखिँदैन ।

पूर्णतामा कमीः

सहकारीहरुले प्रयोग गर्दै आइरहेको डिजिटल वित्त प्रविधिहरुको कुरा गर्दा आधारभूत कुराहरु निर्माण भईसकेपछि यसलाई पुरा भएको मान्ने वा गहिराइसम्म पुगेर सबै पक्षहरुमा काम गर्ने प्रचलन कम रहेको पाइन्छ । हिजोआज बचत तथा ऋण सहकारी संस्था मात्र सञ्चालन गर्नु भनेको कम्तिमा ५ देखि ६ वटा फ्याक्ट्री सञ्चालन गरे बराबर हुन आउँछ । सेवा केन्द्र व्यवस्थापन, लगानी, असुली, भित्री कार्यालय, सदस्य सेवा कक्ष, सूचना प्रविधि आदि इकाईहरु कुनै फ्याक्ट्री भन्दा कम हुँदैनन् र ती प्रत्येक इकाईबाट प्रवाह हुने सेवाहरुमा गुणस्तर ल्याउनको लागि सबै पक्षमा उतिकै महत्वका साथ प्राथमिकता दिनुपर्ने हुन्छ तर एउटा कोर बैंकिङ्ग प्रणाली निर्माण भएपछि सबै कुरा बनिसकेको भन्ने सोच राख्दछौ र कतिपय सामान्य प्रतिवेदनहरुको लागि एक्सेल लगायतका अन्य एपहरुको सहारा लिन्छौं ।

नेपालमा सहकारीहरुले प्रयोगमा ल्याएका मुख्य प्रविधिः

मोबाईल बैंकिङः  टाढैबाट स्मार्ट फोन, ट्याब्लेट जस्ता मोबाईल उपकरणहरुबाट वित्तीय सेवाहरु लिन सकिने गरी बैंक तथा वित्तीय संस्थाहरुले उपलब्ध गराएको डिजिटल सेवालाई मोबाईल बैंकिङ्ग सेवा भनिन्छ । सहकारी संस्थाहरुको मोबाईल बैंकिङ्गबाट धेरै प्रकारका वित्तीय सेवाहरु लिन सकिन्छ । विगतका दिनहरुमा सामान्य बैंकिङ्ग तथा युटिलिटी विल्स पेमेन्टहरुबाट सुरु भएको मोबाईल बैंकिङ्ग सेवा फण्ड ट्रान्सफर (Bank to Coop, Coop to Bank), वालेटहरुमा रकम लोड गर्ने (eSewa, Khalti, IME Pay, Prabhu Pay), रेमिट्यान्स, राईड शेयरिङ (Tootle, Pathao), ब्रोकर पेमेन्ट, मेरो शेयर र डिम्याट नविकरण, बस तथा एयर टिकेटिङ, सरकारी भुक्तानी (Tax payment, Traffic fine), क्रेडिट कार्डको रकम भुक्तानी, कार्डरहित एटिएम सेवा (Card Less ATM) डाटा प्याक खरिद जस्ता सेवाहरु थप भई सहकारीहरुलाई बजारमा प्रतिस्पर्धी सेवा दिन सक्षम बनाएको छ । 

एटिएमः  यो बैंक तथा वित्तीय संस्थाहरुले उपलब्ध गराउने विद्युतीय बैंकिङ्ग उपकरण हो जसले सदस्यहरुलाई कुनै मानवीय सहायता विना २४ सै घण्टा आफ्नो आधारभूत वित्तीय आवश्यकता पुरा गर्न सहयोग गर्दछ । हाल नेपालमा चन्द्रागिरि साकोस, पोखरा रोयल साकोस, विकु साकोस र सामुदायिक साकोस लगायत ८७ वटा सहकारी संस्थाहरुले SCT नेटवर्कमा आवद्ध भई यो सेवा आफ्ना सदस्यहरुलाई उपलब्ध गराउँदै आएका छन् । सहकारीको एटिएम कार्डबाट देशभर यो सेवा दिइरहेको सहकारीहरुको एटिम तथा अधिकांश बैंकहरुको एटिएम लगायत छिमेकी मुलुक भारतबाट समेत खाताको रकम निकाल्न सकिने सुविधा सदस्यहरुमा उपलब्ध हुँदै आईरहेको छ । त्यति मात्र नभई विद्युतीय भुक्तानी POS (Point of Sale) सुविधा पनि सहकारी संस्थाहरुको एटिएम कार्डमा उपलब्ध रहेको छ ।

कियोस्क बैंकिङः  कियोस्क उपकरण (KISOK Terminal) को माध्यमबाट सहकारी संस्थामा रहेको आफ्नो खातामा रकम जम्मा गर्न सुविधा हुने गरी व्यवस्था गरिएको प्रविधिलाई कियोस्क बैंकिङ्ग भनिन्छ । यो नेपालमा नविनतम अवधारणा हो । अधिकांश सहकारी संस्थाहरुका सदस्यहरुलाई नियमित बचत गर्ने बानी बसाल्नको लागि अभिप्रेरित गरिएको हुन्छ । नियमित जम्मा गर्ने बचत रकम सानो रकमको हुन्छ । उक्त बचत आफुलाई अनुकुल हुने जुनसुकै समयमा गर्न सकिन्छ, काउन्टरमा गई भौचर जम्मा गर्नुपर्ने झन्झट व्यहोर्नु नपर्ने हुन्छ । सहकारी संस्था, अस्पताल, सपिङ मल, विमानस्थल लगायतका स्थानमा राखिएका कियोस्क उपकरणहरुबाट आफ्नो खातामा रकम जम्मा गर्न सकिन्छ । यो सेवा मानव रहित सेवा हो, सदस्यहरुले आफ्नो खाता नम्बर उक्त उपकरणमा टाईप गरी सुनिश्चित भएपछि रकम सोही मेशिन भित्र छिराई जम्मा गरेको स्लिप लिन सक्दछन् ।

इन्टरनेट बैंकिङः  ईन्टरनेट बैंकिङ्गलाई अनलाईन बैंकिङ्ग, वेब बैंकिङ्ग वा होम बैंकिङ्ग पनि भनिन्छ । इन्टरनेटको माध्यमबाट बैंकिङ्ग कारोवार गर्ने प्रविधि नै ईन्टरनेट बैंकिङ्ग हो । नेपालमा प्रारम्भिक सहकारी संस्थाहरु लगायत राष्ट्रिय सहकारी बैंक र नेफ्स्कून जस्ता संघ संस्थाहरुले पनि आफ्नो सदस्यहरुकोे लागि यो सेवा प्रवाह गरिरहेका छन् । चन्द्रागिरि साकोसले पनि हाल यो सेवा परीक्षणको रुपमा सुरुवात गरेको छ ।

एसएमएस बैंकिङः  एसएमएस को माध्यमबाट वित्तीय कारोवारहरुको जानकारी गराउने तथा आधारभूत वित्तीय कारोवार समेत गर्न सक्ने गरी बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने मोबाईल नम्बरमा आधारित सेवालाई एसएमएस बैंकिङ्ग सेवा भनिन्छ । आजकाल अधिकांश सहकारी संस्थाहरुले उक्त सेवा उपलब्ध गराउने गरेका छन् ।

ट्याब बैंकिङः  ट्याब्लेट उपकरणको प्रयोग गरी सहकारीका सदस्यहरुले सहकारीको कुनै पनि सेवाकेन्द्र वा कार्यालयमा नगई नयाँ सदस्यता लिन, खाता खोल्न र संस्थाका कर्मचारीहरु मार्फत तोकिए बमोजिमका वित्तीय कारोवार गर्नको लागि कोर बैंकिङ्ग प्रणालीसम्म अनुमति दिने प्रविधिलाई ट्याब बैंकिङ्ग भनिन्छ । यसबाट सदस्यहरुले आफ्नो फोटो, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, दस्तखत नमुना, औंठा छाप आदि पनि संग्रहित गर्न सक्दछन् । हिजो आज सहकारीहरुले साथी बैंकिङ्ग, स्पट बैंकिङ्ग, दैनिक संकलन आदि नामबाट सेवाकेन्द्ररहित सेवाको लागि सो प्रविधिको उपयोग गर्दै आईरहेका छन् ।

सहकारी संस्थाहरुले बदलिँदो बजार र सदस्य सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरी डिजिटल रुपान्तरणलाई गति दिन थालिसकेका छन् । कोभिड १९ को महामारीले सहकारीहरुमा प्रविधिमा आधारित सेवा व्यवस्थापन गर्ने दवाव उत्पन्न भएको छ । डिजिटल रुपान्तरणमा जान मौजुदा प्रविधि र प्रक्रियाहरुलाई पूर्ण रुपमा प्रतिस्थापन गर्नै पर्छ भन्ने छैन । पछिल्लो समय विकसित भएका RPA, AI, Predictive Analysis,  Business intelligence and visualization जस्ता औजारहरुले सहकारीको डिजिटल रुपान्तरणको लक्ष्यलाई पुरा गर्न मद्दत पुर्याउँछ । वित्तीय बजारमा आफ्नो प्रतिस्पर्धी स्थान र संस्थागत सुशासनलाई कायम राख्न सहकारीहरुले डिजिटल रुपान्तरणमा जानैपर्ने हुन्छ । यसको लागि केही समय लिन सकिन्छ तर सुरुवात गर्न ढिलो गर्न हुँदैन ।