बनेपा, काभ्रे । सहकारी क्षेत्रमा युवाको सहभागिता र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला सहकारी संघ लि. काभ्रे अन्तर्गतको युवा समन्वय उपसमितिले “सहकारीमा युवा नेतृत्वको भूमिका” विषयक अन्तरक्रियात्मक तालिम आयोजना गरेको छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक तथा मोटिभेटर राजु सरकारले सहकारी नेतृत्व, व्यक्तित्व विकास, आत्मविश्वास, प्रभावकारी सञ्चार तथा समूह व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए। उनले सहकारी संस्थामा युवाको भूमिका सदस्यतामै सीमित नभई नीति निर्माण र नेतृत्व तहसम्म विस्तार हुनुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष अमन पाेटे श्रेष्ठले सहकारी क्षेत्रको दीर्घकालीन भविष्य युवा पुस्तासँग जोडिएको बताउँदै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। सहकारी संस्थालाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउन युवाको सक्रिय योगदान आवश्यक रहेको उनको भनाइ थियो।
युवा समन्वय उपसमितिका संयोजक राेशन कुमारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी, सञ्चालक समिति सदस्य, विभिन्न उपसमितिका प्रतिनिधि, कर्मचारी तथा प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सदस्य सुरज कुमार न्याैपानेले गरेका थिए भने स्वागत मन्तव्य समेश सापकाेटाले राखेका थिए।
कुल ६५ जना सहभागी रहेको तालिम सहकारी क्षेत्रमा युवा नेतृत्व विकास र क्षमता अभिवृद्धिका दृष्टिले फलदायी भएको सहभागीहरूले बताएका छन्। कार्यक्रम समापन गर्दै संयोजक रोशन कुमार श्रेष्ठले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी सहकारी संस्थाको सुदृढीकरणमा योगदान दिन सहभागीहरूलाई आग्रह गरे।
संघका कामु प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले यस्ता तालिमले सहभागीहरूको कार्यकुशलता र व्यावहारिक क्षमता वृद्धि गर्न मद्दत पुग्ने तथा संस्थागत सुधार र मानव संसाधन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
नेपालपत्र संवाददाता