काठमाडौं । ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले भाटभटेनीका सबै स्टोरबाट न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्दा ‘अन-द-फ्लाई ईएमआई’ सुविधा प्राप्त गर्नेछन्। ग्राहकले ३, ६, ९, १२ वा १८ महिनासम्मको अवधिमा रकम भुक्तानी गर्न सक्नेछन्। यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया, ब्याज वा प्रोसेसिङ शुल्क लाग्ने छैन।
बैंकका अनुसार डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई आधुनिक वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो। विशेषगरी इलेक्ट्रोनिक्स तथा उच्च मूल्यका सामग्री खरिद गर्ने ग्राहकलाई तत्काल आर्थिक भार कम गर्न यस योजनाले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकका लागि विशेष ग्लोबल बीबीएसएम क्लब क्रेडिट कार्ड पनि जारी गरिने भएको छ। ग्राहकको कारोबार इतिहास र आर्थिक व्यवहारका आधारमा १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड उपलब्ध गराइने बैंकले जनाएको छ।
उक्त कार्डमार्फत ग्राहकले सहज भुक्तानी सुविधा, विशेष छुट, अफर तथा आगामी ग्राहक केन्द्रित योजनाहरूको लाभ लिन सक्नेछन्। दुवै संस्थाले आगामी दिनमा संयुक्त रूपमा क्यासब्याक, रिवार्ड र अन्य आकर्षक ग्राहक योजना सञ्चालन गर्ने योजना बनाएका छन्। यस योजनामा आइएमएस सफ्टवेयर प्रा. लि. ले प्राविधिक साझेदारी गरेको छ।
नेपालपत्र संवाददाता