बुधबार, भाद्र ३ गते २०८३

कथा: बुढाबूढीका देश


जेठ २४, २०८३ आइतबार
कथा: बुढाबूढीका देश
परशु काेइराला
 
'......जहाँ अग्रज,वृद्धवृद्धाका कदर हुँदैन ।तिनका खटन,मेहेनतका कदर हुँदैन ।जसका दानापानी,दुख लगानीमा हुर्कन्छन् ,हु्र्काइन्छन् । वुद्धि ,क्षमता र दुरदर्शिताका कदर गर्ने र रोग,बिरामी, सन्चो बिसञ्चो, असशक्तताका वास्ता गर्ने संस्कारसम्म हुँदैनन् ।सँस्कारहीन सडक छापे खातेखतुवा भनेका त्यस्तै होलान् सायद ...!'
 
'...कम दुखले पढाएर देशविदेश गराएको हो र ?' '...अहिले त उनेरुले माटो नछुने रे ...! भातभान्सा पनि घर नगर्ने रे ...! '
 
'...यही पाखारेखामा लडेर यहाँसम्म आ’ का थियौं बाबु ! अब त सक्न छोडिएछ र चिन्ता लागेको ...।'
 
८० र ८५ वर्षका वृद्धवृद्धाका गुनासोका केही अंशमात्रै हो यो । उनीहरुका चार छोरा,तीन छोरी,चार बुहारी र सात नातिनातिना छन् ।दुईछोराका परिवार अमेरिका बस्छन् ।एकछोराका परिवार अष्ट्रेलिया र अर्को छोराका परिवार नेदरल्याण्ड बस्छन् ।छोरीजुवाइका परिवार जर्मनतिर बस्छन् । वल्लापल्ला छिमेकी र आफन्तले नहेरे बुढाबूढीका हातमुख जोरिने पनि उपाय छैन ।
 
'परार साल दुईछोरा आएर काठ्माण्डौंका घर बेचेर लगे ।अर्कोले पोहोर साल पोखराका घरजग्गा बेचेर उतैतिर लगे ।बुहारी नातिनातिना नेपाल आउन मान्दैनन् रे । त्यही पेन्सन छ र धानिएका छौं बाबु ...! '
 
मेरा मात्र होइन सँगै गएको साथीका समेत हृदय कुँडियो ।
 
यी त केवल प्रतिनिधि घटनामात्र थिए ।
 
गाउँवस्तीतिर आजभोलि हातखुट्टा लागेकाहरु कमै देखिन्छन् ।सन्तानमा गर्व गर्नेहरु सहरतिर पनि कमै देखिन्छन् ।
 
बृद्धबृ्द्धाले रुखमै पाकेका केरा र दही खुवाए ।उनका कुरा सुनिदिएकामा निकै माया गरे ।साथीले फोटो लिउँ भन्यो । भो बाबु ! फेसबुकतिर राखिदिनुहोला , छोरा छोरीका इज्जत जान्छ रे ! बारीमा काम गर्दागर्दै त्यही झुत्रोमुत्रो लुगामा माथिल्लाघरे कान्छाले पोहोर साल फेसबुकमा हाल्देको थियो । इज्जत फाल्ने फोटो हाल्दियो भनेर छोराछोरी सबले थर्काउदै ब्लकै पो गरे रे ...!'
 
हामी उनीहरुसँग छुट्टिएर बाटा लाग्यौं । भावी नेपालका चित्र दुवैका मस्तिष्कमा उफ्रँदै थिए । त्यो चित्रमा बुढाबूढीका देशवाहेक केही थिएन ।.