काठमाण्डाै । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा प्रक्रियालाई अघि बढाउँदै सरोकारवाला पक्षसँग राय–सुझाव आह्वान गरेको छ।राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणका लागि बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, व्यवसायी, अर्थविद्, अनुसन्धानकर्ता तथा अन्य सरोकारवालाबाट सुझाव माग गरेको जनाएको हो।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले जारी गरेको सूचनाअनुसार इच्छुक व्यक्ति तथा संस्थाले आफ्ना राय–सुझाव २०८३ असार ५ गतेभित्र इमेलमार्फत विभागमा पठाउन सक्नेछन्। केन्द्रीय बैंकले प्राप्त सुझावलाई अध्ययन गरी सरकारको आगामी आर्थिक वर्षको बजेटले तय गरेका आर्थिक लक्ष्य, प्राथमिकता तथा समष्टिगत आर्थिक स्थायित्वलाई सहयोग पुग्ने गरी मौद्रिक नीति तयार गर्ने जनाएको छ।
नेपाल राष्ट्र बैंकले हरेक वर्ष साउनको पहिलो वा दोस्रो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ। सोही कार्यतालिकाअनुसार यस वर्ष पनि समयमै मौद्रिक नीति ल्याउने तयारीस्वरूप जेठ महिनादेखि नै सुझाव संकलन प्रक्रिया सुरु गरिएको हो। मौद्रिक नीति बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, कर्जा प्रवाह, ब्याजदर, तरलता व्यवस्थापन तथा समग्र आर्थिक गतिविधिलाई मार्गदर्शन गर्ने प्रमुख नीतिगत दस्तावेज मानिन्छ। यसैले राष्ट्र बैंकले नीति निर्माणअघि विभिन्न क्षेत्रका सरोकारवालाको धारणा समेट्ने अभ्यासलाई निरन्तरता दिएको हो।
नेपालपत्र संवाददाता