सन् २०२६ को पहिलो पाँच महिनामै नेपालमा पाँच लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि मेसम्म हवाई मार्गबाट पाँच लाख २९ हजार ६३ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि हो। पर्यटक आगमनमा देखिएको यो उत्साहजनक वृद्धिलाई मे महिनाको बलियो प्रदर्शनले थप टेवा दिएको छ।
मे महिनामा मात्र एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या सन् २०२५ को मेको तुलनामा १९ प्रतिशत र कोरोना महामारीअघिको सन् २०१९ को सोही अवधिको तुलनामा ३१ प्रतिशतले बढी हो। सन् २०२५ को मेमा ८६ हजार २१६, सन् २०२४ मा ९० हजार २११ र सन् २०१९ मा ७८ हजार ३२९ विदेशी पर्यटक नेपाल आएका थिए।
सामान्यता मे महिना पर्वतारोहण, पदयात्रा तथा अन्य साहसिक पर्यटन गतिविधिका लागि उपयुक्त समय भएकाले पर्यटक आगमन बढ्ने गरेको छ। भारतमा गर्मी बढ्ने समयसँगै शीतल मौसमको खोजीमा नेपाल आउने भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको साथै दक्षिण एसियाली मुलुकका पर्यटकले नेपाललाई किफायती गन्तव्यका रूपमा रोज्न थालेको बाेर्डले जनाएकाे छ ।
डलरको विनिमय दर वृद्धि र भारत सरकारले विदेश भ्रमणसम्बन्धी खर्चमा कडाइ गरेका कारण नेपाली पर्यटन गन्तव्य भारतीय पर्यटकका लागि अझ आकर्षक बनेको पर्यटन बोर्डको विश्लेषण छ। यसकै परिणामस्वरूप मे महिनामा भारतबाट आउने पर्यटकको संख्या करिब ४० प्रतिशतले बढेको छ। गत वर्षको मेमा २८ हजार १६० भारतीय पर्यटक नेपाल आएकामा यस वर्ष सोही अवधिमा ४० हजार ७८२ भारतीय पर्यटक नेपाल आएका छन्।
मे महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतबाट ४० हजार ७८२ जना आएका छन्। त्यसपछि चीनबाट ११ हजार ५१४, संयुक्त राज्य अमेरिकाबाट नौ हजार एक, बङ्गलादेशबाट पाँच हजार २९८ र बेलायतबाट तीन हजार ३७५ पर्यटक नेपाल भ्रमणमा आएका छन्।
क्षेत्रगत रूपमा हेर्दा मे महिनामा सार्क मुलुकबाट ४८ हजार ४६१ पर्यटक आएका छन्, जुन कुल आगमनको ४७.२ प्रतिशत हो। अन्य एसियाली मुलुकबाट २० हजार ६६२, युरोपबाट १३ हजार ४४०, अमेरिका क्षेत्रबाट १० हजार ६१८, मध्यपूर्वबाट एक हजार ५११ तथा अन्य मुलुकबाट चार हजार ६१२ पर्यटक नेपाल आएका छन्।
पर्यटन बोर्डका अनुसार यस वर्ष जनवरीमा ९२ हजार ५७३, फेब्रुअरीमा एक लाख पाँच हजार ४१४, मार्चमा एक लाख २० हजार ५१६, अप्रिलमा एक लाख सात हजार ९३४ र मेमा एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। लगातार पाँच महिनासम्म एक लाख हाराहारीमा पर्यटक आगमन हुनु नेपालको पर्यटन क्षेत्र कोरोना महामारीपछि थप मजबुत बन्दै गएको संकेतका रूपमा हेरिएको छ।
नेपालपत्र संवाददाता