बुधबार, भाद्र ३ गते २०८३

पिपिपी मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण लाइन निर्माण हुने


जेठ १९, २०८३ मंगलबार
पिपिपी मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण लाइन निर्माण हुने

 

काठमाडौँ, जेठ १९ — पश्चिम नेपालका ठूला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ। आयोजनाको कार्यान्वयनका लागि वेस्ट सेती ट्रान्समिसन लिमिटेड नामक विशेष प्रयोजन कम्पनी स्थापना भई दर्ता प्रक्रिया पूरा भएको छ।

करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण लगानीमा निर्माण गरिनेछ। बझाङको चैनपुरदेखि डोटीको वनलेक हुँदै कैलालीको दोधोधरा सबस्टेसनसम्म करिब १४५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण हुने जनाइएको छ। आयोजनाबाट पश्चिम सेतीसहित विभिन्न जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह हुने तथा करिब २,५०० मेगावाटसम्म विद्युत् निकासी क्षमता विकास गर्ने लक्ष्य राखिएको छ।

पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको यो आयोजना ऊर्जा सुरक्षा, विद्युत् व्यापार र राष्ट्रिय प्रसारण प्रणालीको विश्वसनीयता बढाउन महत्वपूर्ण मानिएको छ।