बुधबार, भाद्र ३ गते २०८३

मोबाइल नम्बर फेरिए बैंक तथा वालेट प्रदायकलाई जानकारी गराउनुस् : राष्ट्र बैंक


जेठ १९, २०८३ मंगलबार
मोबाइल नम्बर फेरिए बैंक तथा वालेट प्रदायकलाई जानकारी गराउनुस् : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवाग्राहीको मोबाइल नम्बर परिवर्तन भएको अवस्थामा बैंक तथा अन्य वित्तीय सेवा प्रदायक संस्थालाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकको वित्तीय साक्षरता तथा ग्राहक संरक्षणसम्बन्धी चेतनामूलक सन्देशमा बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ तथा डिजिटल वालेटजस्ता सेवाहरू प्रयोगकर्ताको मोबाइल नम्बर वा इमेलसँग आबद्ध हुने भएकाले नम्बर परिवर्तन भएमा सम्बन्धित संस्थालाई समयमै जानकारी दिनुपर्ने उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको जानकारी वित्तीय संस्थालाई नदिँदा खातासम्बन्धी संवेदनशील विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्ने जोखिम रहन्छ। यसले वित्तीय ठगी तथा साइबर अपराधको सम्भावना बढाउन सक्छ।

त्यसैले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएलगत्तै सम्बन्धित बैंक, वित्तीय संस्था वा सेवा प्रदायकलाई जानकारी गराई आफ्नो वित्तीय विवरण सुरक्षित राख्न राष्ट्र बैंकले आग्रह गरेको छ।

साथै, मोबाइलमार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक मोबाइल एप्लिकेसन मात्र प्रयोग गर्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ।