शुक्रबार, कार्तिक ७ गते २०८३

बहुमतका आधारमा पारित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ मा कांग्रेसको असहमति


जेठ १९, २०८३ मंगलबार
बहुमतका आधारमा पारित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ मा कांग्रेसको असहमति

 

नेपाली कांग्रेसले प्रतिनिधिसभाबाट बहुमतका आधारमा पारित गरिएको प्रतिनिधिसभा नियमावली, २०८३ प्रति गम्भीर असहमति जनाएको छ। कांग्रेसले विपक्षी दलका संशोधन, सुझाव र संवैधानिक प्रश्नहरू बेवास्ता गर्दै नियमावली पारित गरिएको भन्दै यसलाई लोकतान्त्रिक अभ्यास र संसदीय मर्यादाविपरीत भएको जनाएको छ। कांग्रेसले नियमावलीको प्रस्तावनामै ‘बाधा अड्काउ फुकाउने’ व्यवस्था राखिनु अलोकतान्त्रिक भएको उल्लेख गर्दै अपवादलाई स्थायी सिद्धान्तका रूपमा स्थापित गर्न खोजिएको आरोप लगाएको छ।

त्यस्तै, नियम २५९ मा रहेको “प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि” भन्ने व्यवस्था संविधानविपरीत रहेको दाबी गर्दै यसले भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायतका अभियोगमा सांसदलाई कानुनी संरक्षण दिन खोजेको कांग्रेसको आरोप छ। कांग्रेसले नियम १४० मार्फत संविधान संशोधनसम्बन्धी प्रक्रियामा राष्ट्रिय सभाको अधिकार कुण्ठित गर्ने प्रयास गरिएको भन्दै उक्त व्यवस्था असंवैधानिक र अस्वीकार्य रहेको जनाएको छ।पार्टीले बहुमतको बलमा अल्पमतका तर्क, संवैधानिक मर्म र लोकतान्त्रिक मूल्यको उपेक्षा गरिएको निष्कर्ष निकाल्दै संविधानको सर्वोच्चता, कानुनी शासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा दृढ रहने प्रतिबद्धता व्यक्त गरेको छ।