शुक्रबार, कार्तिक ७ गते २०८३

प्राधिकरणकाे अध्यक्ष पदमा पाँच जनाको आवेदन स्वीकृत, विज्ञका लागि पुनः दरखास्त आह्वान


जेठ १३, २०८३ बुधबार
प्राधिकरणकाे अध्यक्ष पदमा पाँच जनाको आवेदन स्वीकृत, विज्ञका लागि पुनः दरखास्त आह्वान

 

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण को अध्यक्ष पदका लागि पाँच जनाको आवेदन स्वीकृत भएको छ । प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार अध्यक्ष नियुक्तिका लागि प्रकाशित आह्वानबमोजिम परेको दरखास्तमध्ये सहकारी ऐन, २०७४ र सूचनामा उल्लेखित योग्यता तथा सर्त पूरा गरेका पाँच जनाको आवेदन छनोट समितिले स्वीकृत गरेको हो । स्वीकृत हुनेहरूमा मकवानपुरका ऋषुराज विष्ट, रुपन्देहीका अशोक कुमार पौडेल, कास्कीका विष्णुराज बराल, झापाका गणेश प्रसाद गौतम तथा गुल्मीका सूर्य बहादुर थापा रहेका छन् ।

प्राधिकरणका अनुसार अध्यक्ष नियुक्तिका लागि २०८३ वैशाख २६ गते सूचना प्रकाशित गरिएको थियो । तोकिएको अवधिभित्र प्राप्त आवेदनमाथि छानबिन गर्दा आवश्यक योग्यता पुगेका उम्मेदवारको सूची सार्वजनिक गरिएको हो । अन्य ३ जना आवेदक भने याेग्यता नपुगेका कारण सुचिमा पर्न नसकेकाे सूचनामा जनाइएकाे छ । 

विज्ञ सदस्यका लागि पुनः दरखास्त खुला

प्राधिकरणले माग गरेकाे विज्ञ सदस्य पदमा ३ जनाकाे मात्रै नामावली स्वीकृत भएपछि पुनः आवेदन खुला गरिएको छ। प्राधिकरणले एक सूचना जारी गर्दै यसअघि प्रकाशित आवेदन आह्वानअनुसार प्राप्त दरखास्तमध्ये आवश्यक योग्यता नपुगेपछि पुनः आवेदन खुला गरिएको जनाएको हो ।

सूचनाअनुसार गत वैशाख २६ गते प्रकाशित सूचनाबमोजिम परेको आवेदनको छानबिन गर्दा दर्ता नम्बर १ का रमेश प्रसाद चौलागाईं, दर्ता नम्बर २ का कृष्ण अर्याल र दर्ता नम्बर ७ की रुपा जोशी मात्र तोकिएको योग्यता पुगेको पाइएको छ ।

अन्य आवेदन ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी मापदण्ड, २०८३’ को दफा १५ बमोजिम योग्य नठहरिएकाले पुनः आवेदन माग गरिएको सूचनामा उल्लेख छ। प्राधिकरणले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र, अर्थात् आगामी जेठ १९ गते कार्यालय समयभित्र आवेदन दिन आग्रह गरेको छ । यसअघि प्रकाशित सूचनामा उल्लेख भएका योग्यता, अनुभव र अन्य सर्तहरू यथावत् लागू हुने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।