शनिबार, आश्विन १७ गते २०८३

व्यक्ति होइन, सामूहिक अस्तित्वको प्रवाह


जेठ १२, २०८३ मंगलबार
व्यक्ति होइन, सामूहिक अस्तित्वको प्रवाह
लक्ष्मण उप्रेती
मानिसले आफूलाई “म” भनेर चिन्ने बित्तिकै संसारलाई दुई भागमा विभाजन गर्छ “म” र “अरू”। यही विभाजनबाट व्यक्ति, निजीपन, अलग अस्तित्व, स्वार्थ, प्रतिस्पर्धा र श्रेष्ठताको चेतना जन्मिन्छ। तर प्रकृतिको गहिराइमा गएर ध्यानदृष्टिले हेर्दा यो “म” भन्ने अनुभूति स्थायी सत्य होइन; यो खाली अस्थायी संरचना, जैविक संयोजन र सामाजिक चेतनाको एक रूप मात्र हो। विश्व–ब्रह्माण्ड, प्रकृति, जीव विकास र मानव समाजको मूल नियम हेर्ने हो भने कुनै पनि वस्तु पूर्णतः अलग छैन। सबै कुरा परस्पर सम्बन्ध, अन्तर्सम्बन्ध र सामूहिक प्रक्रियाबाट संचालित छन्। “व्यक्ति” भन्ने धारणा सतही देखावटी मात्र हो; सारमा अस्तित्व सामूहिक छ। 
 
ब्रह्माण्डको उत्पत्तिबाट नै यो सत्य देखिन्छ। कुनै ग्रह, तारा, आकाशगंगा वा जीव स्वतन्त्र रूपमा निर्माण भएका होइनन्। ब्रह्माण्डीय पदार्थ, ऊर्जा, गुरुत्वाकर्षण, समय र गति,यी सबैको पारस्परिक सम्बन्धबाट संरचनाहरू बने। एउटा तारा अर्को तत्त्वको विस्फोटबाट जन्मिन्छ। पृथ्वी सौर्य प्रणालीको सामूहिक संरचनाको परिणाम हो। पृथ्वीमा जीवन पनि कुनै एक्लो घटना होइन; पानी, तापक्रम, रासायनिक तत्व, वातावरण र लाखौं वर्षको जैविक विकास प्रक्रियाको संयुक्त परिणाम हो। त्यसैले जीवनको आधार नै सामूहिकता हो। कुनै जीव आफैभित्र पूर्ण छैन। 
 
जीवविज्ञानले पनि यही कुरा प्रमाणित गर्छ। एउटा मानिसलाई “एक व्यक्ति” भनिए पनि ऊ वास्तवमा अर्बौं कोशिकाहरूको सामूहिक संगठन हो। शरीरभित्र रहेका सूक्ष्म जीवाणु, रगत, स्नायु, अक्सिजन, पानी र जैविक प्रक्रियाहरूको सहकार्य बिना मानिस एक क्षण पनि बाँच्न सक्दैन। मानिसको शरीर आफैंमा एउटा सामूहिक जैविक गणतन्त्र जस्तै हो। मुटु अलग भएर बाँच्न सक्दैन, मस्तिष्क शरीर बिना अर्थहीन हुन्छ। शरीरका सबै अंगहरू परस्पर निर्भर छन्। यस अर्थमा “म” भन्ने कुरा पनि सामूहिक जैविक संरचनाको चेतनात्मक अभिव्यक्ति मात्र हो। 
 
मानिसको चेतना पनि व्यक्तिगत उत्पादन होइन। भाषा, संस्कृति, ज्ञान, विचार, नैतिकता, दर्शन, धर्म, विज्ञान,यी कुनै पनि कुरा एक व्यक्तिले एक्लै निर्माण गरेका होइनन्। हजारौं वर्षको सामूहिक अनुभव, श्रम र सामाजिक विकासले आजको चेतना निर्माण गरेको हो। हामीले बोल्ने भाषा पनि हाम्रो निजी सिर्जना होइन। हामी जन्मनुभन्दा पहिले नै भाषा, समाज, संस्कृति र इतिहास अस्तित्वमा थिए। त्यसैले हाम्रो चेतना पनि सामूहिक इतिहासको निरन्तरता हो। दार्शनिक दृष्टिले हेर्दा “व्यक्ति” भन्ने अवधारणा धेरै हदसम्म भ्रमात्मक छ। पूर्वीय दर्शनमा पनि आत्मलाई स्थायी र स्वतन्त्र सत्ता मानिएको छैन। बौद्ध दर्शनले “अनात्म” को सिद्धान्तमार्फत कुनै स्थायी “म” अस्तित्वमा छैन भन्छ। सबै कुरा क्षणिक, परिवर्तनशील र परस्पर निर्भर छन्।
 
मार्क्सवादी द्वन्द्वात्मक भौतिकवादले पनि मानिसलाई सामाजिक सम्बन्धहरूको समष्टि मानेको छ। मानिसको अस्तित्व उसको सामाजिक उत्पादन सम्बन्ध, श्रम, वर्गीय अवस्था र ऐतिहासिक प्रक्रियासँग जोडिएको हुन्छ। त्यसैले व्यक्ति कुनै निरपेक्ष सत्ता होइन; ऊ सामाजिक संरचनाको गतिशील अंश हो। प्रकृतिमा पनि कुनै वस्तु एक्लो छैन। एउटा रूख माटो, पानी, घाम, हावा र सूक्ष्म जीवहरूको सामूहिक सम्बन्धबाट बाँच्छ। नदी समुद्रसँग जोडिएको हुन्छ। बादल वाष्पसँग जोडिएको हुन्छ। एउटा सानो कीरा पनि सम्पूर्ण पर्यावरणीय चक्रसँग सम्बन्धित हुन्छ। यदि प्रकृतिबाट सामूहिक सन्तुलन हटाइयो भने जीवन सम्भव हुँदैन। यसैले प्रकृतिको नियम अल्गै होइन प्रत्येकका वीचको अन्तरसम्बन्ध हो। 
 
तर मानव समाजमा आदिम साम्यवादी युग पछिको समाजले निजी स्वामित्व र पूँजीवादी संरचनाले “व्यक्ति” लाई अत्यधिक महत्त्व दियो। “म”, “मेरो”, “व्यक्तिगत सफलता”, “निजी उपलब्धि” जस्ता अवधारणाहरूलाई सर्वोच्च बनाइयो। यसले मानिसलाई समाज र प्रकृतिबाट अलग देखाउने भ्रम निर्माण गर्‍यो। वास्तवमा कुनै धन, सफलता वा शक्ति पनि पूर्णतः व्यक्तिगत हुँदैन। एउटा उद्योगपति मजदुर बिना अस्तित्वमा रहन सक्दैन। एउटा वैज्ञानिक हजारौं वर्षको ज्ञान परम्पराबाट बनेको हुन्छ। एउटा कलाकार समाजको सांस्कृतिक चेतना बिना जन्मँदैन। त्यसैले व्यक्तिगत उपलब्धि पनि सामूहिक श्रमको परिणाम हो। 
 
ध्यानदृष्टिले हेर्दा “म” भन्ने अहंकार एउटा मनोवैज्ञानिक केन्द्र मात्र हो। जब मानिस गहिरो ध्यानमा जान्छ, ऊ आफू र प्रकृतिबीचको दूरी हराउँदै गएको अनुभव गर्छ। त्यहाँ “म” र “तिमी” को कठोर विभाजन टुट्न थाल्छ। मानिसले आफूलाई विशाल अस्तित्वको एउटा सानो प्रवाहका रूपमा अनुभूत गर्न थाल्छ। यही कारण धेरै दार्शनिक र साधकहरूले अस्तित्वलाई “एकत्व” वा “समष्टि चेतना” को रूपमा व्याख्या गरेका छन्।
 
तर यसको अर्थ व्यक्ति पूर्णतः निरर्थक छ भन्ने होइन। व्यक्ति अस्तित्वमा छ, तर स्वतन्त्र र निरपेक्ष रूपमा होइन। ऊ समष्टिको अभिव्यक्ति हो। एउटा तरंग समुद्रबाट अलग देखिए पनि वास्तवमा समुद्रकै रूप हो। त्यसरी नै मानिस समाज, प्रकृति र ब्रह्माण्डीय प्रक्रियाबाट अलग छैन। “व्यक्ति” दृश्य रूप हो; “समष्टि” सार हो। यसको व्यवहारिक अर्थ अत्यन्त गहिरो छ। यदि हामी साँच्चै सामूहिक अस्तित्वको नियम बुझ्छौं भने अहंकार, जातीय श्रेष्ठता, वर्गीय घमण्ड, निजी स्वार्थ र शोषणको आधार कमजोर हुन्छ। मानिसले आफूलाई अरू भन्दा माथि होइन, अरूसँग घनिष्ठ रुपमा जोडिएको अनुभूति गर्न थाल्छ। तब सहकार्य, सहअस्तित्व, सामूहिक उत्तरदायित्व र साझा भविष्यको चेतना विकसित हुन्छ। प्रकृतिको विनाश पनि कम हुन्छ, किनकि मानिसले आफूलाई प्रकृतिबाट अलग ठान्न छोड्छ। 
 
अन्ततः निष्कर्ष के हो भने “व्यक्ति” भन्ने कुरा पूर्ण सत्य होइन; त्यो सामूहिक अस्तित्वको अस्थायी र बाहिरी रूप मात्र हो। विश्व–ब्रह्माण्ड, प्रकृति, जीवन र समाज सबै परस्पर निर्भर सामूहिक नियमद्वारा संचालित छन्। हामी अलग छैनौं; हामी विशाल समष्टिको गतिशील अंश हौं। अलग देखिनु वास्तविकता होइन, अनुभूतिको सीमितता हो। अस्तित्वको गहिरो सत्य सामूहिकता, अन्तरसम्बन्ध र निरन्तर प्रवाह हो।