काठमाण्डाै । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लुम्बिनी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले प्रदेशको अर्थतन्त्र मिश्रित अवस्थामा रहेको देखाएको छ । कृषि उत्पादनमा केही सुधारको सम्भावना देखिए पनि उद्योग, पर्यटन र पूर्वाधार क्षेत्रमा चुनौती अझै कायम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कृषि, उद्योग, सेवा तथा पूर्वाधार क्षेत्रका तथ्याङ्कदाता र अन्य सरोकारवाला निकायबाट प्राप्त प्रतिक्रिया तथा जानकारीका आधारमा चालु आर्थिक वर्षको बाँकी ६ महिनाको आर्थिक परिदृश्य विश्लेषण गरिएको हो ।
प्रतिवेदनअनुसार कृषि क्षेत्रमा दीर्घकालीन कृषि विकास रणनीति तथा प्रदेश सरकारका उत्पादनमुखी कार्यक्रमका कारण आगामी महिनामा अन्नबाली, तरकारी, फलफूल, माछा तथा पशुपन्छीजन्य उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । उच्च मूल्यका तरकारी, कफी, च्याउ, मौरी तथा पुष्पखेती प्रवर्द्धनका कार्यक्रमले ग्रामीण अर्थतन्त्र चलायमान बन्ने विश्वास गरिएको छ । अनुकूल मौसम र हिउँदे वर्षाका कारण गहुँ तथा बेमौसमी तरकारी उत्पादन पनि बढ्ने अनुमान गरिएको छ ।
उद्योग क्षेत्रमा भने मिश्रित अवस्था देखिएको छ । भैरहवा, बुटवल र नेपालगञ्ज आसपास औद्योगिक गतिविधि विस्तार हुने अपेक्षा गरिए पनि उद्योगहरूको क्षमता उपयोग अझै सीमित रहेको प्रतिवेदनले देखाएको छ । कच्चा पदार्थ, ऊर्जा, बजार तथा श्रमशक्ति व्यवस्थापनका चुनौतीका बीच कृषि तथा वनजन्य उत्पादनमा आधारित उद्योग विस्तार हुने अपेक्षा गरिएको छ ।
सेवा क्षेत्रतर्फ पर्यटन, बैंकिङ तथा व्यापारिक गतिविधिमा सुधारको संकेत देखिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आए विदेशी पर्यटक आगमन बढ्ने तथा होटल, रेष्टुरेन्ट र यातायात व्यवसायमा सुधार आउने अपेक्षा गरिएको छ । बैंक तथा वित्तीय संस्थाबाट सेवा तथा औद्योगिक क्षेत्रमा कर्जा प्रवाह बढ्दै गएकोले व्यापारिक गतिविधि थप विस्तार हुने प्रतिवेदनले औंल्याएको छ ।
पूर्वाधारतर्फ नारायणगढ–बुटवल सडक विस्तार, सिद्धबाबा सुरुङमार्ग, सिक्टा तथा बबई सिँचाइ आयोजना जस्ता ठूला परियोजनामा भइरहेको प्रगतिले आगामी महिनामा आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ । सडक, सिँचाइ तथा निर्माण क्षेत्रका परियोजनाले कृषि उत्पादन, व्यापार र रोजगारीमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । तर परियोजना सम्पन्नतामा भइरहेको ढिलाइ भने प्रदेशको आर्थिक गतिमा चुनौतीका रूपमा रहेको प्रतिवेदनले जनाएको छ ।
नेपालपत्र संवाददाता