काठमाण्डाै । भन्सार विभाग को तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालले ३५ अर्ब ४५ करोड रुपियाँ बराबरको धान तथा चामल आयात गरेको छ । साउनदेखि वैशाखसम्म कुल ५१ अर्ब २५ करोड ८६ लाख ७५ हजार रुपियाँ बराबरको खाद्यान्न आयात हुँदा त्यसको करिब ६९ प्रतिशत हिस्सा धान र चामलले ओगटेको विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार समीक्षा अवधिमा १७ अर्ब ६५ करोड ४४ लाख ४१ हजार रुपियाँ बराबरको दुई लाख २७ हजार ४६६ मेट्रिक टन चामल आयात भएको छ । त्यस्तै १७ अर्ब ८० करोड ६६ लाख १७ हजार रुपियाँ बराबरको चार लाख ५२ हजार मेट्रिक टन धान आयात गरिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ३५ अर्ब ५३ करोड रुपियाँ बराबरको धानचामल आयात भएको थियो । यस वर्ष आठ करोड रुपियाँले आयात घटे पनि परिमाणका हिसाबले आयात उच्च नै रहेको देखिन्छ । धान आयातमध्ये १० अर्ब ५८ करोड ८४ लाख रुपियाँ बराबरको दुई लाख ४४ हजार ४६० मेट्रिक टन धान बिउका लागि आयात भएको विभागले जनाएको छ ।
मकै आयात पनि उच्च
१० महिनामा १० अर्ब ४१ करोड ४८ लाख १२ हजार रुपियाँ बराबरको दुई लाख ४८ हजार २२३ मेट्रिक टन मकै आयात भएको छ । मकै मुख्यतः पोल्ट्री उद्योगका लागि आयात हुने गरेको छ । त्यस्तै तीन अर्ब ५२ करोड ६९ लाख रुपियाँ बराबरको ७२ हजार ७६४ मेट्रिक टन गहुँ, ५१ करोड ४० लाख ५८ हजार रुपियाँ बराबरको १० हजार १९५ मेट्रिक टन कोदो तथा २५ करोड ३९ लाख १० हजार रुपियाँ बराबरको तीन हजार ३६ मेट्रिक टन जौ आयात भएको छ । पछिल्लो समय कोदोको उपभोग बढ्दै गए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा निर्भरता बढेको देखिएको छ ।
भारतदेखि मेक्सिकोसम्मबाट आयात
नेपालले धान तथा चामल मुख्य रूपमा भारत, भियतनाम, सिङ्गापुर, मेक्सिको, थाइल्यान्ड र इन्डोनेसियाबाट आयात गर्दै आएको छ । त्यस्तै मकै अर्जेन्टिना, चीन, दक्षिण अफ्रिका, फिलिपिन्स, टर्की, ब्राजिल तथा क्यानडाबाट आयात हुने गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
उत्पादन बढे पनि आत्मनिर्भरता टाढा
कृषि, वन तथा वातावरण मन्त्रालय का अनुसार चालु आर्थिक वर्षमा धान उत्पादन ४.२० प्रतिशतले बढेर ५७ लाख पाँच हजार १२६ मेट्रिक टन पुगेको छ । नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा धानको योगदान करिब १२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यद्यपि उत्पादन वृद्धि हुँदाहुँदै पनि खेतीयोग्य जमिन बाँझो हुनु, कृषि श्रमिक अभाव, उत्पादन लागत वृद्धि तथा बजार व्यवस्थापन कमजोर रहँदा नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न नसकेको देखिन्छ । विशेषगरी ग्रामीण क्षेत्रबाट वैदेशिक रोजगारीतर्फ श्रमशक्ति पलायन भएपछि खेतीयोग्य जमिन उपयोग घट्दै गएको छ । यसको प्रत्यक्ष प्रभाव खाद्यान्न उत्पादन र आयात निर्भरतामा परेको कृषि क्षेत्रका जानकारहरू बताउँछन् ।
नेपालपत्र संवाददाता