शुक्रबार, कार्तिक ७ गते २०८३

मधेशको उद्योग क्षेत्र सुस्त, कर्जा बढे पनि उत्पादन क्षमता न्यून


जेठ ११, २०८३ सोमबार
मधेशको उद्योग क्षेत्र सुस्त, कर्जा बढे पनि उत्पादन क्षमता न्यून


काठमाण्डाै, नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको “मधेश प्रदेशको आर्थिक गतिविधि अध्ययन अर्ध–वार्षिक प्रतिवेदन (आ.व. २०८२/८३)” अनुसार मधेश प्रदेशमा औद्योगिक कर्जा प्रवाह बढे पनि उद्योगहरूको उत्पादन क्षमता उपयोग सन्तोषजनक देखिएको छैन । प्रतिवेदनले उद्योग क्षेत्रको संरचनागत कमजोरी, बजार समस्या, श्रम पलायन तथा पूर्वाधार अभावलाई मुख्य चुनौतीका रूपमा औंल्याएको छ भने कृषि–आधारित उद्योग, सीमापार व्यापार र लजिस्टिक्स क्षेत्रलाई प्रदेशको ठूलो सम्भावनाका रूपमा चित्रण गरेको छ ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान १२.१८ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशको आर्थिक वृद्धिदर भने १.३१ प्रतिशत मात्रै रहने प्रक्षेपण गरिएको छ, जुन देशकै सबैभन्दा कम हो ।

क्षमता उपयोग ३० प्रतिशतभन्दा तल

प्रतिवेदनले अध्ययनमा समेटिएका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा २९.७६ प्रतिशत मात्रै रहेको उल्लेख गरेको छ। यसले उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको संकेत गर्छ । कच्चा पदार्थ आपूर्ति, ऊर्जा, बजार पहुँच, माग संकुचन तथा वित्तीय दबाबका कारण उद्योगहरू न्यून क्षमतामा सञ्चालन भइरहेको प्रतिवेदनको निष्कर्ष छ ।

विशेषगरी मधेश प्रदेशमा रहेका कतिपय उद्योगहरूको प्रशासनिक तथा केन्द्रीय कार्यालय अन्य प्रदेशमा रहेकाले उत्पादन र रोजगारीसम्बन्धी तथ्यांकसमेत व्यवस्थित नभएको उल्लेख गरिएको छ । नयाँ उद्योग तथा सञ्चालनमा रहेका उद्योगहरूले समेत नियमित तथ्यांक उपलब्ध नगराउँदा औद्योगिक क्षेत्रको यथार्थ मूल्यांकनमा कठिनाइ भएको प्रतिवेदनले जनाएको छ ।

औद्योगिक कर्जा बढ्यो, प्रभावकारितामा प्रश्न

प्रतिवेदनअनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कुल कर्जा २.६७ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रहेको थियो । यसले उद्योग क्षेत्रमा बैंकिङ पहुँच विस्तार भइरहेको देखिए पनि कर्जा वृद्धि उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित रूपमा रूपान्तरण हुन नसकेको संकेत प्रतिवेदनले गरेको छ । विश्लेषकहरूका अनुसार मधेशमा उद्योगका लागि कर्जा प्रवाह बढे पनि लगानीको ठूलो हिस्सा व्यापारिक तथा सीमित उत्पादनमुखी क्षेत्रमा केन्द्रित हुँदा औद्योगिक उत्पादन विस्तार कमजोर बनेको देखिन्छ ।

कृषि–आधारित उद्योगमा सम्भावना

प्रतिवेदनले मधेश प्रदेशलाई कृषि उत्पादन, व्यापार र सेवा क्षेत्रको केन्द्रका रूपमा विकास गर्न सकिने उल्लेख गरेको छ । उर्वर भूमि, खुला सीमा, उच्च जनघनत्व र यातायात पहुँचका कारण प्रदेशमा उत्पादनमुखी उद्योग विस्तारको आधार बलियो रहेको प्रतिवेदनको निष्कर्ष छ । विशेषगरी कृषि उत्पादन प्रचुर मात्रामा हुने भएकाले खाद्य प्रशोधन, तेल उद्योग, चिनी उद्योग, कृषि भण्डारण तथा कृषि–आधारित उद्योग विस्तारको उच्च सम्भावना रहेको प्रतिवेदनले उल्लेख गरेको छ । भारतसँगको खुला सीमा र व्यापारिक नाकाका कारण उत्पादनमूलक उद्योग स्थापना गरी वस्तु तथा सेवाको निर्यात विस्तार गर्न सकिने वातावरण रहेको पनि प्रतिवेदनले जनाएको छ । साथै जनकपुर–जयनगर रेल सेवा, सम्भावित कार्गो सेवा तथा लजिस्टिक्स विस्तारले औद्योगिक गतिविधिमा नयाँ अवसर सिर्जना गर्न सक्ने उल्लेख छ ।

श्रम पलायन र अनौपचारिक कारोबारले चुनौती

प्रतिवेदनले मधेश प्रदेशको उद्योग क्षेत्रका प्रमुख चुनौतीमध्ये दक्ष जनशक्ति पलायनलाई प्रमुख रूपमा औंल्याएको छ । विदेश रोजगारीतर्फ युवाको आकर्षण बढेकाले प्राविधिक तथा दक्ष श्रमिक अभाव बढ्दै गएको उल्लेख छ । त्यस्तै, प्रदेशमा ठूलो आर्थिक कारोबार अझै अनौपचारिक क्षेत्रमा केन्द्रित रहेकाले कर प्रणाली विस्तार, व्यवसाय दर्ता तथा डिजिटल कारोबार प्रवर्द्धन आवश्यक रहेको प्रतिवेदनको सुझाव छ । खुला सीमाका कारण हुने अवैध व्यापार, न्यून गुणस्तरका आयातित वस्तु तथा अनौपचारिक कारोवारले स्थानीय उद्योगलाई प्रतिस्पर्धामा कमजोर बनाएको निष्कर्ष पनि प्रतिवेदनले निकालेको छ ।

प्रतिवेदन अनुसार मधेश प्रदेशमा उद्योग विस्तारका लागि आवश्यक आधार, जस्तैः उर्वर भूमि, श्रमशक्ति, सीमापार बजार, यातायात पहुँच र कृषि उत्पादन, पर्याप्त भए पनि नीति कार्यान्वयन, पूर्वाधार, बजार व्यवस्थापन र औद्योगिक आधुनिकीकरणमा कमजोरी देखिएको छ । यदि कृषि–आधारित उद्योग, लजिस्टिक्स, सीमापार व्यापार र डिजिटल सेवा क्षेत्रमा लक्षित लगानी तथा समन्वित नीति कार्यान्वयन गर्न सकिए मधेश प्रदेशलाई देशकै प्रमुख औद्योगिक तथा आर्थिक केन्द्रका रूपमा विकास गर्न सकिने प्रतिवेदनले औंल्याएको छ ।