शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारीका संघको कारोबार बन्द होइन, व्यवस्थित गर्न माग


जेठ १०, २०८३ आइतबार
सहकारीका संघको कारोबार बन्द होइन, व्यवस्थित गर्न माग

 

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड ले ‘सहकारी अध्यादेश २०८३’ सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै सहकारीको कारोबार बन्द गर्नेभन्दा व्यवस्थित गर्न राज्यलाई आग्रह गरेको छ ।

भक्तपुरको खँचा स्थित सिद्धि गणेश तालिम हलमा आयोजित कार्यक्रममा सहकारीकर्मीहरूले अध्यादेशका केही प्रावधानले बचत फिर्ता प्रक्रियामा थप समस्या सिर्जना गर्ने तथा सहकारीलाई राज्यको नियन्त्रणमा राख्न खोजिएको भन्दै चिन्ता व्यक्त गरे ।

संघका अध्यक्ष हरिकृष्ण बल्ल ले प्रारम्भिक संस्थाको आवश्यकता र तरलता व्यवस्थापनका लागि संघ स्थापना भएको उल्लेख गर्दै “कारोबार बन्द गर्ने होइन, उचित व्यवस्थापन गर्नुपर्छ” भन्ने धारणा राखे । उनले संघहरूमाथि रहेको ९२ अर्ब रुपैयाँ कारोबार नै सहकारी क्षेत्रप्रतिको विश्वासको प्रमाण भएको बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजु ले अध्यादेशका कानुनी पक्ष, प्रभाव र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्दै संघहरूले कानुनअनुसार बचत तथा ऋण कारोबार गर्न पाउनुपर्ने अडान राखे । 

उपाध्यक्ष जगनाथ प्रजापति ले अध्यादेशमार्फत सहकारीलाई सरकारी नियन्त्रणमा राख्न खोजिएको टिप्पणी गर्नुभयो भने प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजु ले समस्या समाधानका नाममा कारोबार नै बन्द गर्नु उचित नहुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी सदस्य संस्थाका प्रतिनिधिहरूले आगामी प्रतिस्थापन विधेयकमै संशोधन गरी सहकारीमैत्री व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । कार्यक्रममा करिब १६० जना सहकारीकर्मी तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।