नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीहरुको समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली शुरु भएको आज चार वर्ष पुरा भएको उपलक्ष्यमा आज यहाँ आयोजित एक कार्यक्रममा बोल्दै उनले सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल श्रम सम्बन्ध विकास गर्ने हामी सबैको साझा लक्ष्य भएको बताए ।
वरिष्ठ उपाध्यक्ष ढकालले भने “सामाजिक सुरक्षा प्रणाली हाम्रो लागि नयाँ भएकोले यसको कार्यान्वयनमा केही व्यवहारिक कठिनाईहरु देखिएका र सूचिकरण प्रकृया सुस्त गतिमा रहेको भएपनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आजसम्म सूचिकृत प्रतिष्ठान र श्रमिकको संख्याबाट निराश हुनुपर्ने छैन ।”
नयाँ व्यवस्था लागु गर्दा केही समस्या त आउँछन् नै भन्दैमा त्यसबाट विचलित हुनु भन्दा प्राप्त गरेको अनुभव र सुरक्षा प्रणालीको कार्यान्वयनमा देखिएका चूनौतीहरुलाई मनन् गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सफलतापूर्वक अघि वढाउन कोष सक्षम हुने विश्वास उनले व्यक्त गरे ।
हालसम्म करिब १६ हजार प्रतिष्ठान र २ लाख ९५ हजार श्रमिकको सूचिकरण भई सकेको जानकारी पनि दिए ।
विद्यमान विवाद र द्विविधाको अन्त्य हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई हाम्रो आफ्नै परिवेश अनुकूल र आकर्षक बनाउन ऐन कानून र कार्यविधिमा थप सुधार र परिमार्जन गर्नेतर्फ सोच्न पनि उनले अनुरोध गरे ।