बुधबार, भाद्र ३ गते २०८३

जन जीवन जोगाउन हिमाली जैबिक–बिबिधता जोगाऔं !


जेठ ९, २०८३ शनिबार
जन जीवन जोगाउन हिमाली जैबिक–बिबिधता जोगाऔं !

लाेकनारायण सुबेदी
नेपाल आज मानसिक रुपले गरीब र मगन्ते जस्तो देखिदै प्रस्तुत हुने गरेको भए पनि प्रकृतिले बरदानस्वरुप दिएको यहाँको बिशाल र महत्वपूर्ण जैबिक बिबिधताले अत्यन्तै समृद्ध र सम्पन्न छ भन्ने कुरा राष्ट्रिय अन्तर्राष्ट्रिय ज्ञाता बिद्वानहरुले बरोबर भन्दै आएका छन् । यो सत्य कुरा हो । अझ कतिले नेपाल ‘सुनको कटौरा लिएर माग्न हिडेको’ मगन्तेको संज्ञा दिएर ठूलो ब्यंग बाँण पनि कसेका छन् । ‘माल पाएर पनि चाल नपाएको’ जस्तो अबस्थाबाट गुज्रिरहेको आजको नेपालको तीतो यथार्थलाई बुझ्नेहरुलाई अबश्य पनि यो ब्यंगले नराम्रोसँग घोच्दाे होला । तर देश र जनताप्रति जिम्मेवार हुनु नपर्ने ठान्ने गैडाको छाला प्रबृत्तिका लागि त कुरै गर्नु परेन ।
वास्तवमाा नेपाल छर छिमेक र एशियामा मात्र होइन बिश्वमै आफ्नो समृद्ध इकोसिस्टम (पारिस्थितिकी)का लागि बिशेषरुपले उल्लेख गरिने देशमा पर्दछ । त्यसैले बिश्वका बैज्ञानिकहरु नेपालको भू–धरातल र यसमा बरदानकोरुपमा रहेका जैब बिबिधिताप्रति आकर्षित मात्र छैनन् तिनको संरक्षण हुनु पर्ने यथार्थ प्रति पनि बेला बेलामा कुरा उठाउने गर्दछन् । हुन पनि हाम्रो देशका हिमाल, पहाड, पर्बत, तराईको समतल जमिन, प्राकृतिक बन जंगल, जडीबुटी र जीब जन्तुको अत्याधिक बिबिधता ब्यापकरुपमा छ । हाम्रो हिमालय क्षेत्रमा बिश्वकै ५० प्रतिशत बिभिन्न प्रजातिहरुको बासस्थान रहेको बिज्ञहरु औंल्याउने गर्दछन् । उनीहरु भन्दछन् – ‘हिमालयको लगभग लाखौं बर्ग किलोमिटर क्षेत्रमा फैलिएको इकोसिस्टममा अनेकौं जीव जन्तुहरु र बिबिधिताले भरिएका बनस्पतिहरुका हजारौ हजार प्रजातिहरु रहेका छन् ।

Himalijaibikbibidhata.jfif
वास्तवमा हाम्रो यो हिमालयको बिशाल जैबिक बिबिधता हाम्रो समाजको अमूल्य, महत्वपूर्ण र अपरिहार्य जीवन आधार हो । यो हिमालय क्षेत्रको अश्रज पानीबाट नै नेपालका करोडौ मानिसहरुका साथै छिमेकी देशका पनि करोडौं करोड मानिहरुका लागि खाना, पीना र अन्य आर्थिक आबश्यकताहरुको परिपूर्ति भइरहेको छ । यो हिमालय क्षेत्रमा झण्डै झण्डै १ हजारभन्दा बढी औषधीयुक्त जडिबुटीका बोट बिरुवा र ६ सयभन्दा बढी जंगली फलफूल उत्पादन हुने गरेको बताइन्छ । दुर्लभ र बहुमूल्य‘यार्सागुम्बा’ लगायत ‘पाँच औंले’, ‘जटामसी’ समेत अनेक उपयोगी र महत्वपूर्ण जडीबुटीको उपस्थितिले यहाँका अधिकांश गाउँ घरहरु र समग्र समाजलाई नै अभूतपूर्बरुपमा उन्नत बनाउन सकिने प्रचुर सम्भावनाहरु छन् । तर तिनको योजनाबद्ध सदुपयोग भने अझै पनि राम्रोसँग हुन शुरु नै भएको छैन ।
भारतको भूगर्भिय सर्बेक्षणद्वारा २०१८ अर्थात आजभन्दा ८ बर्ष अघि प्रकाशित एउटा अनुसन्धनपत्रका अनुसार यो हिमालय क्षेत्रमा ३० हजार ३७७ प्रजातिहरु र उप–प्रजातिहरु छन् । अद्यापि बनस्पतिहरुका कूल प्रजातिहरु के कति छन् यकिन र सही तथ्यांक उपलब्ध हुन नसकेको कुरा पनि त्यस सर्बेक्षणले उल्लेख गरेको थयाे । ‘बोटानिकल सर्बे अफ इण्डिया’ले पनि भारत भरीमा ४९ हजारभन्दा बढी प्रजाति उपलब्ध भएको बताएबाट नेपालको यो असमान भू-धरातलीय क्षेत्रमा बनस्पतिका प्रजातिहरु असंख्य रहेको अनुमान गर्न सकिन्छ ।
हिमालयका बिशाल पर्बत श्रृंखलाहरुले साइबेरियाली शीतल वायुराशीहरुलाई रोकेर भाारतीय उपमहाद्विपलाई जाडोमा ‘अधिक ठण्डा हुनबाट बचाउँदछन् । ‘वाइल्ड लाइफ इन्स्टिच्यूट अफ इण्डिया’को एउटा अनुसन्धानका अनुसार ‘हिमालय पृथ्वीको सबैभन्दा उच्च र बिशाल पर्बतीय तानाबाना अर्थात श्रृंखला हो जुन २४ किलोमिटर लामो र ३०० किलो मिटर चौडा रहेको छ ’ ।
बरफ या हिउँको अतिरिक्त गर्मी (उष्मा) लाई पुनः अन्तरीक्षमा पठाएर यसले पृथ्वी र महासागहरुको रक्षा गर्दछ । तर माानबीय गतिबिधिका कारण बिशेष गरेर प्रकृति अमैत्री औद्योगिक क्रान्ति पछिदेखि तीब्र गतिले बढेको ‘ग्लोबल वार्मिङ्ग’ वा त्यसको प्रभावले जलवायु परिबर्तन भएको छ । जसले गर्दा हिमालयको जैब–बिबिधता पनि नराम्ररी खतरामा परेको छ ।

Himalijaibikata.jpg
बितेका दशकयता यो हिमालय क्षेत्रको भूमि उपयोगमा भइरहेका परिबर्तनका कारण पनि तापमान बढ्न गएको छ । यो हिमालय क्षेत्रका अधिकांश पर्यटन स्थल बिस्तारै बिस्तारै कंक्रीटको जंगलमा परिणत हुँदै गइरहेका छन् । फलतः यस क्षेत्रकाे इकोसिस्टम(पारिस्थिकी)पनि नराम्ररी प्रभावित भइरहेको या भइसकेको छ । मानिसका अतिरिक्त यातायताका बाहानहरुका आउने जाने क्रम बढे पछि पनि बरफ पग्लिने गति तीब्र बन्दै गएको छ । फलतः हिमालयका ५० भन्दा बढी हिमनदीहरु खुम्चिन पुगेका छन् । त्यसको प्रत्यक्ष असर हिमालय क्षेत्रका बनस्पतिहरुको बितरण, ऋतु–जैबिकी तथा कृयाकलापमाथि प्रत्यक्षरुपमा परेको देख्न पाइन्छ ।
यसका अतिरिक्त जीवाष्म इन्धन बाल्ने गर्दा ‘ग्रीनहाउस ग्यास’को उत्सर्जन हुन्छ र त्यसबाट ‘उष्मन प्रकृया’ प्रभावित बन्न जान्छ । त्यो उष्मा वायु मण्डलबाट बाहिर जाँन अबरोध बन्दछ । यो बिदितै भइसकेको कुरा हो कि झण्डै झण्डै एक डिग्रीसम्म तापक्रम बढ्दा ग्ल्याशियर (हिम नदी) पग्लिने गति तीब्र भएर दोब्बर हुन पुगेको छ । यो तथ्यांक अनुसार १९८५ देखि २००० सम्मको भनिएको छ । त्यसैले बैज्ञानिकहरुले चेतावनी दिइरहेका छन् कि भलै आउदा दशकहरुमा बिश्वमा ‘ग्रीन हाउस ग्यास’को उत्सजर्नमा अंकुश लगाइए पनि यो बिश्वको बाकी ग्ल्याशियरको एक तिहाई भन्दा बढी भाग बर्ष २१०० भन्दा पहिला नै पग्लिने र जैब बिबिधतमा ठूलाे नोक्सान पुग्ने र जीव जन्तुहरुको आवासस्थल समाप्त भएर जाने उल्लेख छ । अहिले बाली नालीमा बढी जंगली जीवजन्तु लाग्नु र किसानको बालीनाली स्वाहा हुन पुग्नुको एउटा प्रमुख कारण नै यही हो ।
एउटा ‘अन्तर सरकारी साइन्स पोलिसी प्लेटफर्म’ ले जैबिक बिबिधता र इकोसिस्टम तन्त्र सेवाहरुमा २०१९ मा पहिलो बैज्ञानिक मूल्यांकन रिपोर्ट जारी गरेको थियो । त्यस रिपोर्टको आकलन अनुसार प्राणी र बनस्पतिका १० लाख प्रजातिहरु लुप्त हुने खतरा रहेको र तीमध्ये केही हजार प्रजातिहरु त एक दुइ दशकमै मासिएर जाने कुरा उल्लेख थियो । हिमालय क्षेत्रमा जलवायु परिबर्तनको प्रभावको अध्ययन गरिरहेका समूहरुलाई यो हाम्रो बहुमूल्य हिमाली जैबिक बिबिधता नष्ट हुने चिन्ताले निकै सताउन थालेको देखिन्छ ।

OIP.webp
जलवायु परिबर्तन, जंगल बिनाश, खराब बन ब्यवस्थाापन र मानिसहरुमा आवश्यक जागरुपतामा कमी आदिका कारण हामीले यो हिमाली क्षेत्रको सम्पदा गुमाउन थालेका या गुमाइरहेका छौं । यदि हामीले यो हिमालय क्षेत्रका अनन्त र सक्षम जैबिक बिबिधताासाथै यस क्षेत्रको संरक्षण गर्न चाहन्छौ भने हामीले सर्बप्रथम कार्बन उत्सर्जन र हरित गृह(ग्रीन हाउस ग्यास) ग्यासको उत्सर्जनमाथि रोक लगाउनु र नियन्त्रण गर्नै पर्दछ । साथै यो हिमाली क्षेत्रमा रहने मानिसहरुलाई यस क्षेत्रको संरक्षण, सम्बर्द्धन र सुरक्षाका लागि सुशिक्षित, दीक्षित र जागरुप तुल्याउनै पर्दछ । यस क्षेत्रमा पनि पर्यटन बिकासको नाममा प्रकृति–अमैत्री कंक्रिटीकरण गरिन थालिएको छ । त्यसलाई रोकेर प्रकृति–मैत्री संरचना मात्र बनाउने र यो क्षेत्रको अमूल्य सम्पत्तिलाई जोगाउन र मानब र प्रकृति–बिकासको सही र स्वाभाविक बाटोमा लगाउनु पर्दछ । अन्यथा बिनाशकाे अपूर्ब बाेझले थिच्ने, किच्ने र मिच्ने छ । त्यसपछि पछुताेकाे सुस्केरा बाहेक अरू केही बाँकी रहने छैन । हेक्का राखाैं ।