कास्की । सहकारी क्षेत्रमा सदस्यकेन्द्रित सेवा, प्रविधिमैत्री अभ्यास र सामाजिक उत्तरदायित्वमार्फत अलग पहिचान बनाएको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड २५औँ वर्षमा प्रवेश गरेको छ । गण्डकी प्रदेशको कास्कीस्थित यस सहकारीले ‘सुखी सदस्य, दिगो सहकारी’को अवधारणासहित सदस्यमैत्री सेवा विस्तार गर्दै आएको जनाएको छ।
२०५९ साल जेठ ८ गते स्थापना भएको संस्थाले अहिले कास्की, स्याङ्जा, तनहुँ र लमजुङ जिल्लामा सेवा विस्तार गरिसकेको छ । सहकारीले सार्वजनिक गरेको विवरणअनुसार हाल संस्थामा १० हजार ४ सय ४५ सदस्य रहेका छन् । कुल सम्पत्ति २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने बचत १ अर्ब ९२ करोड र ऋण लगानी १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रहेको छ । संस्थाको तरलता ४६ दशमलव २४ प्रतिशत रहेको जनाएको छ।
पोखरा रोयल साकोसले पछिल्ला वर्षहरूमा प्रविधिमा उल्लेख्य फड्को मारेको छ । संस्थाले कारोबारलाई क्यासलेस, चेकलेस र पेपरलेस बनाउँदै कोर बैंकिङ प्रणाली, क्लाउड प्रविधि, कनेक्ट आईपीएस, ट्याब्लेट बैंकिङ तथा ‘रोयल स्मार्ट बैंकिङ’ सेवा सञ्चालनमा ल्याएको छ । मोबाइलबाटै बचत विवरण, बिल भुक्तानी, रकम ट्रान्सफर, एटीएम र क्यूआर सेवा उपलब्ध गराइएको सहकारीले जनाएको छ।
सदस्य केन्द्रित सेवामा जोड दिएको सहकारीले स्वास्थ्योपचार, सुत्केरी स्याहार, मृत्यु राहतदेखि ज्येष्ठ सदस्यलाई पेन्सनसम्म उपलब्ध गराउँदै आएको छ । ‘रोयल फाउन्डेसन’मार्फत सदस्यलाई विभिन्न सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिँदै आएको छ । उद्यमशीलता प्रवर्द्धनका लागि संस्थाले व्यवसाय विकास सेवा डेस्क स्थापना गर्नुका साथै महिला सदस्यलाई लक्षित गरेर पाककला तालिम सञ्चालन गरेको जनाएको छ । बुद्धचोकमा सञ्चालनमा रहेको ‘रोयल दिदीबहिनी किचन’ पनि सहकारी अवधारणाअन्तर्गत महिला सदस्यकै लगानीमा सञ्चालन भइरहेको छ ।
सहकारीले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गरी सदस्यलाई सहुलियत सेवा उपलब्ध गराउँदै आएको छ । यसका साथै अध्ययन अवलोकनका लागि देशभरका सहकारीकर्मीको रोजाइमा पोखरा रोयल पर्ने गरेको संस्थाका सूचना अधिकारी मिलन ढकालले बताउनुभयो । कोभिड–१९ को समयमा सुरु गरिएको ‘मिसन १००’ अभियानमार्फत सहकारीले तरलता व्यवस्थापन, सदस्य वृद्धि र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्रभावकारी बनाएको जनाएको छ ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ गत वर्ष नेफ्स्कूनबाट उत्कृष्ट व्यवस्थापक सम्मानबाट समेत सम्मानित हुनुभएको थियो । संस्थाले २५औँ स्थापना दिवसका अवसरमा सदस्य, शुभेच्छुक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ विश्वसनीय, सुरक्षित र पारदर्शी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपालपत्र संवाददाता