शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारी बैंक निर्वाचनमा दलीय हस्तक्षेपः मन्त्रीको ध्यानाकर्षण, विभागको आपत्ति


जेठ ७, २०८३ बिहीबार
सहकारी बैंक निर्वाचनमा दलीय हस्तक्षेपः मन्त्रीको ध्यानाकर्षण, विभागको आपत्ति

 

काठमाण्डाै । राष्ट्रिय सहकारी बैंक सञ्चालक समिति निर्वाचनमा राजनीतिक दलहरूले खुला रूपमा दलीय उम्मेदवार घोषणा गरेपछि सहकारी विभागले गम्भीर चासो व्यक्त गरेको छ। सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलसम्म विषय पुगेपछि विभागले विज्ञप्ति जारी गर्दै सहकारी मूल्य–मान्यता विपरीतका गतिविधि निरुत्साहित गर्न आग्रह गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी जेठ ९ गते हुने राष्ट्रिय सहकारी बैंक लिमिटेडको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग मिलेर साझा उम्मेदवार बनाएको पत्र सार्वजनिक भएपछि विषय थप चर्चामा आएको हो । एमाले कार्यालय सचिव डा. भीष्म अधिकारीद्वारा जारी पत्रमा प्रदेश तथा जिल्ला कमिटीलाई सम्बन्धित पक्षसँग समन्वय गरेर उम्मेदवारलाई निर्वाचित गराउन निर्देशनात्मक आग्रह गरिएको छ ।

यसैबीच, सहकारी विभागले सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय सहकारी बैंक लगायतका सहकारी संघसंस्थाको निर्वाचनमा राजनीतिक दलगत आधारमा प्यानल बनाएर प्रतिस्पर्धा गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्त विपरीत यस्ता गतिविधिले सहकारी ऐन, २०७४ को मर्म र कानुनी व्यवस्थामाथि प्रतिकूल असर पार्ने उल्लेख गरेको छ । यस्ता अभ्यासले सदस्यबीच अस्वस्थ प्रतिस्पर्धा बढाउने, सहकारी क्षेत्रमा सुशासन कमजोर बनाउने तथा अन्तर्राष्ट्रिय सहकारी अभ्यास र मान्यतासमेत विपरीत हुने विभागको निष्कर्ष छ । विज्ञप्तिमा सहकारीको मर्मअनुसार सञ्चालन हुने वातावरण निर्माण गर्न तथा सहकारी क्षेत्रमा सुशासन कायम गर्न यस्ता गतिविधि निरुत्साहित गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ ।

अन्य ६ वटा प्रदेशमा बैंककाे सञ्चालक समिति सदस्य बन्न राजनीतिक भागबण्डाका आधारमा सर्वसम्मत् भएपनि बागमती प्रदेशमा भने दुइ उमेदवारबीच निर्वाचन हुने भएकाे हाे । त्यसका लागि नेपाली काँग्रेस, नेकपा एमाले  र नेपाली कम्युनिष्ट पार्टीले संयुक्त उमेदवारकाे रूपमा डा. परिताेष पाैडेललाइ अगाडी सारेका छन् भने उनका प्रतिद्वन्दीमा रामशरण शर्मा घिमिरे रहेका छन्।