शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारी संस्थाको क्षमता अभिवृद्धि गर्न ‘संगठनात्मक विकास तालिम’


जेठ ६, २०८३ बुधबार
सहकारी संस्थाको क्षमता अभिवृद्धि गर्न ‘संगठनात्मक विकास तालिम’

 

काठमाण्डाै । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कून) ले सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने ‘संगठनात्मक विकास तालिम’ सम्पन्न गरेको छ । ललितपुर महानगरपालिका आर्थिक विकास महाशाखाको सहकार्यमा ‘कोशिस कार्यक्रम’ अन्तर्गत छैटौं समूहमा आबद्ध सहकारी संस्थाका प्रतिनिधिलाई लक्षित गरी सञ्चालन गरिएको तालिम काठमाडौंको मिनभवनस्थित बागमती प्रोस्कूनको सभाहलमा जेठ ३ देखि ५ गतेसम्म सञ्चालन भएको थियो ।

तालिमको उद्घाटन बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता तथा ललितपुर महानगरपालिका सहकारी व्यवस्थापन महाशाखा प्रमुख दयाराम खत्रीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा संघका सचिव ठाकुरप्रसाद बास्कोटाले तालिमको औचित्य र सहकारी संस्थाको संस्थागत सुदृढीकरणमा यसको महत्वबारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत किशोर पौडेलले गरेका थिए ।

तालिममा बागमती प्रोस्कूनका तालिम, अनुसन्धान तथा विकास विभाग प्रमुख बिमला पुडासैनी र कार्यक्रम अधिकृत किशोर पौडेलले प्रशिक्षण दिएका थिए । तालिममा आठ वटा सहकारी संस्थाबाट २० जना सहभागी भएका थिए । तालिममा संस्थागत सुशासन, पारदर्शिता, नेतृत्व विकास, सहकारीको प्रभावकारी व्यवस्थापन तथा संस्थागत क्षमता विकासका विषयमा सहजीकरण गरिएको आयोजकले जनाएको छ ।

समापन कार्यक्रममा बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष जीवसराज खड्का र प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालको उपस्थितिमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

bagmati proscun 1.jpg