काठमाण्डाै । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणतर्फ अघि बढेको छ । अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले ४७ आवेदकमध्ये चार जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा राखेको हो । सर्टलिस्टमा सेबोनका पूर्वकार्यकारी निर्देशक डा. नवराज अधिकारी, सेबोनकै निर्देशक विनयदेव आचार्य, नेपाल राष्ट्र बैंक का पूर्वकार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री तथा डा. गोपाल भट्ट परेका छन् ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार गठित अध्यक्ष छनोट तथा सिफारिस समितिले वैशाख १५ गते इच्छुक व्यक्तिबाट व्यक्तिगत विवरण माग गरेको थियो । तोकिएको समयभित्र ४७ जनाले आवेदन दिएका थिए । तीमध्ये योग्यता, अनुभव र पेशागत पृष्ठभूमिका आधारमा चार जनाको नाम छनोट गरिएको समितिले जनाएको छ । अब सर्टलिस्टमा परेका उम्मेदवारसँग थप छलफल तथा अन्तर्वार्ता गरी अन्तिम सिफारिस सरकारसमक्ष पठाइनेछ ।
सेबोन अध्यक्ष पद लामो समयदेखि रिक्त रहँदा पूँजीबजारका नीतिगत निर्णय, नयाँ धितोपत्र निष्कासन तथा बजार सुधारका काम प्रभावित हुँदै आएका छन् । नयाँ अध्यक्ष नियुक्तिसँगै नियामकीय नेतृत्वले पूर्णता पाउने अपेक्षा गरिएको छ ।
नेपालपत्र संवाददाता