काठमाडौं । नेपाल टेलिकमले डोल्पा, ताप्लेजुङ, सङ्खुवासभालगायत विकट क्षेत्रमा फोरजी सेवा विस्तार गर्दै मोबाइल तथा इन्टरनेट पहुँच पुर्याएको छ। सरकारको डिजिटल विभेद घटाउने लक्ष्यमा साथ दिन दुर्गम तथा हिमाली बस्तीहरूमा दूरसञ्चार सेवा विस्तारलाई टेलिकमले तीव्र बनाएको जनाएकाे छ। टेलिकमका अनुसार भौगोलिक रूपमा कठिन क्षेत्रमा हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर समेत सेवा विस्तार गरिएको छ । व्यावसायिक लाभ कम हुने भए पनि सबै नागरिकलाई डिजिटल पहुँचमा जोड्ने उद्देश्यले लगानी गरिएको कम्पनीले जनाएको छ ।
हालै डोल्पाको लाहाँ, दुनै तथा थाला डाँडामा फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । यसबाट हजारौँ स्थानीय बासिन्दा लाभान्वित भएका छन् । ताप्लेजुङको ओलाङचुङगोला, घुन्सा तथा पाथीभरा क्षेत्रमा पनि उच्च गतिको मोबाइल इन्टरनेट सेवा सुरु भएको छ । त्यस्तै, सङ्खुवासभाको मकालु र भोटखोला क्षेत्रसम्म नेटवर्क विस्तार गरिएको छ । टेलिकमले माइक्रोवेभ र स्याटेलाइट प्रविधिमार्फत हिमाली तथा सीमावर्ती क्षेत्रमा सेवा विस्तार गरिरहेको जनाएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पनि दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ । सञ्चार मन्त्रालयका अनुसार फोरजी सेवा देशभर विस्तार गर्दै फाइभजी सेवाको तयारीसमेत अघि बढाइएको छ । फोरजी सेवा विस्तारसँगै दुर्गम क्षेत्रमा अनलाइन कक्षा, डिजिटल भुक्तानी, इमेल, सामाजिक सञ्जाल तथा अन्य डिजिटल सेवा प्रयोग सहज हुने अपेक्षा गरिएको छ । यसले पर्यटन, शिक्षा, स्वास्थ्य तथा स्थानीय प्रशासनिक सेवामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
नेपालपत्र संवाददाता