शुक्रबार, कार्तिक ७ गते २०८३

हस्तकला प्रवर्द्धनका लागि काठमाडौंमा ‘नेपाल ह्यान्डिक्राफ्ट एक्स्पो २०२६’ हुँदै


जेठ ५, २०८३ मंगलबार
हस्तकला प्रवर्द्धनका लागि काठमाडौंमा ‘नेपाल ह्यान्डिक्राफ्ट एक्स्पो २०२६’ हुँदै

 

काठमाडौं । स्थानीय हस्तकला उत्पादनको बजार विस्तार, उद्यमीलाई प्रवर्द्धन तथा नेपाली कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित काठमाडौंमा ‘नेपाल ह्यान्डिक्राफ्ट एक्स्पो २०२६’ आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघले पत्रकार सम्मेलन गर्दै आगामी जेठ ८ देखि १० गतेसम्म बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेट एण्ड इभेन्टमा तीनदिने मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो । मेला दैनिक बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । 

महासंघका अनुसार हस्तकला क्षेत्रले लाखौंलाई स्वरोजगार उपलब्ध गराउँदै आएको छ भने नेपाली हस्तकला वस्तुको अन्तर्राष्ट्रिय बजार पनि विस्तार हुँदै गएको छ । भारत, चीनलगायत विभिन्न मुलुकमा वार्षिक अर्बौं रुपैयाँ बराबरका हस्तकला सामग्री निर्यात भइरहेको महासंघले जनाएको छ । मेलामा काठमाडौं उपत्यकासहित संखुवासभा, ताप्लेजुङ, मकवानपुर, चितवन, झापा, कास्की, पाल्पा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, बर्दिया, दाङ लगायत जिल्लाका हस्तकला उद्यमी सहभागी हुनेछन् । करिब ७० वटा स्टलमार्फत हस्तकला सामग्री, स्थानीय उत्पादन तथा परम्परागत परिकार प्रदर्शन र बिक्री गरिने आयोजकले जनाएको छ ।

मेलाको मुख्य आकर्षणका रूपमा हस्तकला प्रदर्शनी तथा बिक्री, सांस्कृतिक कार्यक्रम, स्थानीय कलाकार तथा कालिगढको सीप प्रदर्शन र परम्परागत खानाका परिकार रहनेछन् । महासंघका अनुसार मेलाले स्थानीय उत्पादनको बजार पहुँच विस्तार गर्नुका साथै उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै परम्परागत सीप, कला र संस्कृतिको संरक्षण तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ । मेलामा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।