शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारी क्षेत्रमा ‘एआई’को उपयोगबारे कोअपरेटिभ म्यानेजर्स क्लबले चलायो बहस


जेठ ४, २०८३ सोमबार
सहकारी क्षेत्रमा ‘एआई’को उपयोगबारे कोअपरेटिभ म्यानेजर्स क्लबले चलायो बहस

 

भक्तपुर, सूर्यविनायक नगरपालिका क्षेत्रभित्र रहेका सहकारी संस्थाका व्यवस्थापकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उपयोग सम्बन्धी विशेष प्रशिक्षण तथा भेला सम्पन्न भएको छ । कोअपरेटिभ म्यानेजर्स क्लबको आयोजनामा भएको उक्त तेस्रो भेलाले आधुनिक प्रविधिलाई सहकारी क्षेत्रमा कसरी उपयोग गर्ने भन्ने विषयमा बहस र अभ्यास गराएको हो ।

नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा सहजकर्ताका रूपमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजू रहेका थिए। प्रशिक्षणका क्रममा धोजूले एआईको परिचय, यसको ऐतिहासिक विकासक्रम, विश्वव्यापी र नेपालमा विद्यमान कानुनी व्यवस्थाका साथै यसका विभिन्न प्रकार र उपकरणहरूबारे सैद्धान्तिक जानकारी गराए । सहकारीलाई प्रविधिमैत्री बनाउन प्रम्प्ट इन्जिनियरिङको ज्ञान अपरिहार्य भइसकेको सहजकर्ता धोजूले बताए । सहभागीहरूलाई प्रयोगात्मक रूपमा समेत एआईको प्रयोग गरी कार्यसम्पादन सहज बनाउने तरिकाहरू उनले सिकाएका थिए । 

क्लबका अध्यक्ष जगतकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त भेलामा बोल्दै उनले सूर्यविनायक नगरपालिकाका सहकारीकर्मीहरूको क्षमता विकासका लागि एआई सम्बन्धी तालिम निकै सान्दर्भिक रहेको उल्लेख गरे। समयसापेक्ष प्रविधिको ज्ञानले मात्रै सहकारीको व्यवस्थापनलाई छिटो, छरितो र पारदर्शी बनाउन सकिने उनको भनाइ थियो ।

अमरज्योति साकोसका व्यवस्थापक एवं क्लबका सचिव निर्मलप्रसाद सुवेदीले विषयवस्तुको प्रस्तुतिसँगै क्लबको वार्षिक प्रगति विवरण र आगामी गतिविधिहरूका बारेमा जानकारी गराए। भेलाले कार्यसमितिको १ जना रिक्त सदस्य पदमा नारायण साकोसका व्यवस्थापक आनन्द खत्री सर्वसम्मत चयन गरिएको छ ।   

मैत्रीय साकोसका व्यवस्थापक एवं क्लबका कार्यसमिति सदस्य उमेश सिलवालले सञ्चालन गरेको कार्यक्रममा भविष्य साकोसकी व्यवस्थापक एवं कार्यसमिति सदस्य लक्ष्मीपुष्पा भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन् । भेलामा सूर्यविनायक क्षेत्रका विभिन्न सहकारीका व्यवस्थापक तथा कर्मचारी गरी ४० जनाको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले एआईको प्रयोगले कार्यालयको दैनिक कामकाज र प्रतिवेदन लेखनमा उल्लेख्य सुधार आउने विश्वास व्यक्त गरे।