बुधबार, भाद्र ३ गते २०८३

सहकारी बैंकमा चुनावी रौनक, अन्य प्रदेशमा सर्वसम्मत् हुँदा बागमतीमा भने दुईजना बीच प्रतिस्पर्धा


जेठ ३, २०८३ आइतबार
सहकारी बैंकमा चुनावी रौनक, अन्य प्रदेशमा सर्वसम्मत् हुँदा बागमतीमा भने दुईजना बीच प्रतिस्पर्धा

काठमाण्डाै । राष्ट्रिय सहकारी बैंकको अन्य प्रदेशमा सर्वसम्मत् नेतृत्व चयन भए पनि बागमती प्रदेशमा भने दुई जनाबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सहकारी बैंकको आगामी जेठ ९ गते शनिवार सञ्चालक समितिका लागि हुन गइरहेको निर्वाचनमा बागमती प्रदेशबाट सहकारी अभियन्ता राम शरण शर्मा घिमिरे र परितोष पौड्यालबिच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन उप समितिले तोकेको समय सीमा भित्र दुइ उमेदवारबीच सहमति हुन नसकेपछि बागमती प्रदेशको सञ्चालक बन्नका लागि उनीहरुबीच निर्वाचन हुने भएको हो ।

शर्मा र पौड्याल दुबै एमाले निकट सहकारीकर्मी भएपनि बागमती प्रदेशको सञ्चालक बन्न चुनावी मैदानमा होमिएका हुन् । पहुँचको भरमा पौड्यालले बैंकको उम्मेदवार बन्न पार्टीबाट टिकट ल्याएपछि अर्को पक्षले शर्मालाई बैंकको सञ्चालक सदस्यको उमेदवारमा अघि सारेको हो । पौड्यालको पार्टीभित्र सहकारी विभाग प्रमुख खगराज अधिकारीसँग राम्रो उठबस रहेका कारण सहकारीका हरेक निकायमा आफु अनुकूल निर्णय गराउने गरेको आरोप छ ।  जसले गर्दा एमाले पक्षधर अभियन्ता नै उनको व्यवहारप्रति असुन्तष्ट रहँदै आएका छन् । त्यस्तो व्यवहारको प्रतिरोधमा असन्तुष्ट पक्षधरले शर्मालाई अगाडि सारेको बुझिएको छ। 

पौडेलले काठमाण्डौको नरपानी देवनगर बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गरेका छन् भने शर्माले बागमती प्रदेश सहकारी संघको प्रतिनिधित्व गरेका छन् । यसअघि नेफ्स्कूनका अध्यक्ष समेत बनेका  पौड्याल हाल राष्ट्रिय सहकारी महासंघको सञ्चालक रहेका छन्। सहकारी अभियानभित्र आफूलाई अब्बल उमेदवारको रूपमा दावी गर्ने पौड्याल बैंकको नेतृत्व गर्न योग्य रहेको जनाउँछन्।

बैंकका पूर्व सञ्चालक समेत रहेका शर्मा भने सबै दलका प्रतिनिधिलाइ मिलाएर लैजान सक्ने क्षमता भएका उमेदवार हुन् । हाल बागमती प्रदेश सहकारी संघको अध्यक्ष समेत रहेका शर्मा सहकारी क्षेत्रमा लाेकप्रिय व्यक्तित्व मानिन्छन् । लामाे समय यसै क्षेत्रमा बिताएका शर्मा सहकारी क्षेत्रमा प्रत्यक्ष रूपमा राजनीति हावी हुन नहुने तर्क गर्छन् । 

सहकारी बैंकमा प्रत्येक प्रदेशबाट एक जना सञ्चालक चयन हुने र सात प्रदेशबाट निर्वाचित सञ्चालकमध्येबाट अध्यक्ष चयन हुने व्यवस्था छ । यस अघि बैंकमा आवद्ध सदस्य संस्थाका प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा मतदान गरेर अध्यक्ष चुन्ने व्यवस्था रहेको भएपनि पछिल्लो पटक नेपाल राष्ट्र बैंक र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशनले सञ्चालक समितिको संख्या घटाउनुका   साथैसात जना सञ्चालक सदस्य मध्येबाट अध्यक्ष  चयन गर्ने व्यवस्था गरेको छ । यस्तै, २ जना विज्ञ सञ्चालकको भने नयाँ सञ्चालक समितिले नै चयन गर्नेछ ।

यसअघि कोशीबाट लक्ष्मीप्रसाद उप्रेती, मधेशबाट मन्दिरा आचार्य, गण्डकीबाट कमलादेवी गिरी, लुम्बिनीबाट विष्णुप्रसाद बराल र कर्णालीबाट कालीप्रसाद महतरा निर्विरोध चयन भइसकेका छन् । सुदूरपश्चिममा मनमोहन विष्ट सर्वसम्मत भएका छन् । बैंकको गत मंसीर ६ गते इकाइगत साधारणसभा एवं मंसीर १३ गते प्रमाणिकरण सभा सम्पन्न भएपनि संशोधित विनियम स्वीकृतिमा समय लागेका कारण निर्वाचन ढिला हुन गएको हो ।