काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा समयमै भुक्तानी गर्न सर्वसाधारणलाई आग्रह गर्दै ऋण नतिर्नु कानुनी र नैतिक दायित्वविपरीत हुने चेतावनी दिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वित्तीय चेतनाकालागि’ शीर्षकको सन्देशमार्फत बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपका रूपमा संकलन गरी सोही रकम कर्जाका रूपमा प्रवाह गर्ने भएकाले कर्जा भुक्तानीलाई गम्भीर जिम्मेवारीका रूपमा लिनुपर्ने जनाएको हो ।
सन्देशमा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका सर्तबमोजिम लिएको कर्जा समयमै तिर्नु ऋणीको कानुनी दायित्व भएको उल्लेख गरिएको छ । कसैको बहकाउमा लागेर वा नियतवश ऋण भुक्तानी नगर्नु वित्तीय अनुशासन र आचरणविपरीतको कार्य हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकका अनुसार कर्जा प्रयोग गरेर भुक्तानी नगर्ने ऋणी तथा जमानीकर्तामाथि कालोसूचीमा राख्ने, धितो सुरक्षण लिलामी गर्ने लगायत कानुनी कारबाही हुन सक्छ । त्यस्तो अवस्थाले सामाजिक बहिष्करणसमेत निम्त्याउन सक्ने चेतावनी सन्देशमा दिइएको छ ।
राष्ट्र बैंकले कर्जाका रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकाले त्यसको भुक्तानी गर्नु नैतिक र कानुनी दायित्व दुवै भएको उल्लेख गर्दै “सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं” भन्ने सन्देशसमेत दिएको छ ।
नेपालपत्र संवाददाता