शुक्रबार, कार्तिक ७ गते २०८३

जेठमा पनि ब्याजदर घट्यो, व्यक्तिगत मुद्दतीमा औसत ४.३४ प्रतिशत कायम


बैशाख ३१, २०८३ बिहीबार
जेठमा पनि ब्याजदर घट्यो, व्यक्तिगत मुद्दतीमा औसत ४.३४ प्रतिशत कायम

 

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । कर्जा प्रवाह सुस्त रहे पनि बैंकहरूको ब्याजदर लगातार घट्ने क्रम रोकिएको छैन । बैंकहरूले हरेक महिनाको अन्तिम दिन आगामी महिनाका लागि लागू हुने ब्याजदर सार्वजनिक गर्ने क्रममा जेठका लागि अधिकांश बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४ देखि ४.५ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन् ।

जेठ महिनामा ७ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ बैंकले अघिल्लो महिनाकै दरलाई स्थिर राखेका छन् । वैशाखको तुलनामा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपमा दिने औसत अधिकतम ब्याजदर ०.०५९५ प्रतिशत बिन्दुले घटेर ४.३४३ प्रतिशतमा झरेको छ । वैशाखमा यस्तो औसत दर ४.४०२५ प्रतिशत थियो ।

जेठमा ब्याजदर घटाउने बैंकहरूमा सिटिजन्स बैंक इन्टरनेसनल, हिमालयन बैंक, कुमारी बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल रहेका छन् । त्यस्तै ब्याजदर स्थिर राख्ने बैंकहरूमा कृषि विकास बैंक, एभरेस्ट बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक लगायत रहेका छन् । हाल जेठ महिनाका लागि सबैभन्दा बढी व्यक्तिगत मुद्दती ब्याजदर एनएमबी बैंक ले ४.८० प्रतिशत तोकेको छ ।