नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले बिहीबार विधिवत् रूपमा आफ्नो कार्यभार सम्हालेका छन् । महासंघको सचिवालयमा आयोजित एक विशेष समारोहका बीच निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै महासंघको २१ औं अध्यक्षका रुपमा श्रेष्ठले पद बहाली गरेका हुन् ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्नुभएका श्रेष्ठलाई निवर्तमान अध्यक्ष ढकालले सपथ ग्रहण गराएका थिए । अन्य पदाधिकारी तथा कार्यकारिणी सदस्यहरुलाई नवनिर्वाचित अध्यक्षले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। पद बहाली लगत्तै नवनिर्वाचित पदाधिकारीहरुसंगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालका प्राथमिकता समेटिएको “६ स्तम्भ, ६० पहल” कार्यक्रम घोषणा गर्दै सोसँग सम्बन्धित विस्तृत कार्ययोजनालाई क्रमशः कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे । “मैले निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा महासंघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा तयार पारेको ६ स्तम्भ, ६० पहल कार्यक्रम आफ्नो ३ वर्षे कार्यकालको प्राथमिकता रहनेछ । यही अनुसार महासंघले अगाडि बढाउने रणनीतिक कार्यक्रम तथा कार्ययोजना कार्यान्वयन मेरो प्राथमिकता रहने छ ।” अध्यक्ष श्रेष्ठले भने ।
अध्यक्षको ६ स्तम्भ, ६० पहल कार्यक्रममा महासंघको संस्थागत क्षमता अभिवृद्धि गर्दै निजी क्षेत्रको साझा आवाजलाई अझ प्रभावकारी, विश्वसनीय तथा परिणाममुखी बनाउने उद्देश्य राखिएको छ । यस्तै आगामी कार्यकालमा निजी क्षेत्रको हकहित संरक्षण, उद्योग–व्यवसाय प्रवर्द्धन, लगानीको सुरक्षा तथा विस्तार, नीति पैरवीको प्रभावकारिता अभिवृद्धि, संघीय संरचनाअनुसार सदस्य संस्थाहरूसँगको समन्वय सुदृढीकरण, सेवा प्रवाहको आधुनिकीकरण, डिजिटल प्रणालीको विकास, युवा उद्यमशीलता तथा नवप्रवर्तन प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक कूटनीतिक सम्बन्ध विस्तार लगायतका विषयहरु समेटिएका छन् ।
परिचयात्मक कार्यक्रममा बोल्दै महासंघका निर्वतमान अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघका एजेण्डाहरु निजी क्षेत्र प्रवर्द्धन लागि हुनुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा देशको आर्थिक विकास र समृद्धिको लागि महासंघले सक्दो पहल गरको धारणा राख्दै सरकारले महासंघले पेश गरेअनुसार निजी क्षेत्र संरक्षण तथा संम्वर्द्धन कार्यक्रम (एसपीपी) मन्त्रिपरिषदबाट पास भएको र यसले निजीक्षेत्रको संरक्षण तथा संम्वर्द्धनमा सहयोग पुग्ने उनले बताए ।
पूर्व अध्यक्ष महेशलाल प्रधानले देशमा औद्योगिक तथा व्यवसायिक वातावरण निर्माणमा महासंघले शसक्त भूमिका निर्वाह गर्न सक्नु पर्नेमा जोड दिए । उनले महासंघले देशको आर्थिक विकास र समृद्धिको लागि वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिनु पर्ने र नगरेको अवस्थामा प्रश्न गर्न सक्नै हैसियत निर्माण गर्नु पर्ने बताए ।
नेपालपत्र संवाददाता