काठमाडौं । नेपाल राष्ट्र बैंक ले तरलता व्यवस्थापनका लागि ४४ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ उठाउने भएको छ। बैंकले जारी गरेको सूचनाअनुसार २०८३ वैशाख २३ गते उक्त निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरिएको छ। सोही दिन दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत मात्र बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ भने निष्कासन पनि सोही दिन हुनेछ।
यस योजनाअन्तर्गत संकलन गरिने रकम २० अर्ब रुपैयाँ रहेको छ। निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ। संकलित रकमको साँवा तथा ब्याज भुक्तानी मिति २०८३ असार ५ गते तोकिएको छ, जसअनुसार कुल अवधि ४४ दिन रहनेछ। बैंकका अनुसार बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँ प्रस्ताव गर्नुपर्नेछ भने अधिकतम रकम ५ करोड रुपैयाँका गुणकमा कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ। यस निक्षेप संकलन उपकरणलाई नेपाल राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा पनि प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
नेपालपत्र संवाददाता