काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ को ६० औँ वार्षिकोत्सवका अवसरमा अध्यक्ष चन्द्र ढकालले महासंघको यात्रा मुलुकको आर्थिक इतिहाससँग गाँसिएको संघर्ष, दृढता र साझेदारीको प्रतीक भएको बताएका छन्। महासंघको ६ दशक केवल समयको गणना नभई देशको आर्थिक मेरुदण्ड मजबुत बनाउने अभियान भएकाे र उसले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउँदै उद्योग, व्यापार र लगानीमैत्री वातावरण सिर्जनामा महत्वपूर्ण योगदान पुर्याएको भनाइ ढकालकाे छ छ।
ढकालले राजनीतिक अस्थिरता, प्राकृतिक विपद् तथा आन्तरिक–बाह्य आर्थिक चुनौतीका बीच पनि महासंघले आफ्नो भूमिका कमजोर हुन नदिएको उल्लेख गर्दै प्रत्येक चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै अर्थतन्त्रलाई अघि बढाउने अगुवाको रूपमा स्थापित भएको बताए। उनले ६० वर्षको इतिहासलाई राष्ट्रिय उद्यमशीलताको प्रतीक, आशाको केन्द्र र आर्थिक रूपान्तरणको मार्गदर्शकका रूपमा चित्रित गर्दै साना, मझौला र ठूला व्यवसायीलाई एउटै मञ्चमा जोड्दै सामूहिक समृद्धिको बाटो खुलाएको बताए।
अध्यक्ष ढकालले हाल गठन भएको स्थायी सरकारबाट निजी क्षेत्र प्रवर्द्धन एवं संरक्षण रणनीति लागू गर्ने निर्णयलाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै यसले व्यवसायीहरूको भौतिक तथा नीतिगत सुरक्षाको प्रत्याभूति दिने विश्वास व्यक्त गरे। उनले मुलुकसामु अहिले अभूतपूर्व अवसर आएको उल्लेख गर्दै राजनीतिक स्थायित्वलाई आर्थिक विकास र नीतिगत स्थायित्वमा रूपान्तरण गर्न आग्रह गरे। नेपालमा युवा जनसंख्या, छिमेकी विशाल बजार र अन्तर्राष्ट्रिय पहुँचजस्ता सम्भावनालाई सदुपयोग गर्न सके तीव्र आर्थिक प्रगति सम्भव रहेको उनको भनाइ छ।
रोजगारी सिर्जनालाई प्रमुख चुनौतीका रूपमा औंल्याउँदै ढकालले उच्च ज्याला सहितको रोजगार र स्वरोजगार अवसर विस्तार नगरेसम्म युवामा देखिएको निराशा हटाउन नसकिने बताए। निजी क्षेत्रले हाल ८६ प्रतिशत रोजगारी दिएको उल्लेख गर्दै लगानीमैत्री वातावरण निर्माणमा सरकार केन्द्रित हुनुपर्नेमा उनले जोड दिए। उनले अत्यधिक नियमन, कमजोर सुशासन र सीमित विदेशी लगानीलाई अर्थतन्त्रको अवरोधका रूपमा उल्लेख गर्दै प्रविधिको प्रयोग र पारदर्शितामार्फत सुशासन अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।
ढकालले नयाँ चरणको आर्थिक सुधार, कानुनी स्थायित्व, प्रविधिको अधिकतम उपयोग तथा ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रको सम्भावनाको उपयोगमार्फत अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशा लिनुपर्ने बताए। स्वदेशी पुँजी परिचालनका लागि १० अर्ब रुपैयाँ चुक्ता पुँजीको लगानी कम्पनी स्थापना गरिएको जानकारी दिँदै उनले यसबाट ठूला आयोजना सञ्चालन सम्भव हुने र “नेपालमा केही हुँदैन” भन्ने धारणा तोडिने विश्वास व्यक्त गरे।
उनले निजी क्षेत्रलाई आर्थिक सुधारको नेतृत्व लिन आग्रह गर्दै सरकारमाथि मात्र निर्भर रहने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। साथै, स्थानीय तथा प्रदेश तहसँग सहकार्य विस्तार गर्न र जिम्मेवार व्यवसाय अभ्यासलाई प्रवर्द्धन गर्न पनि उनले आह्वान गरे। विगतका संकटः भूकम्प र कोभिड महामारीबाट निजी क्षेत्र पुनःउठ्न सफल भएको स्मरण गर्दै आगामी दिन थप सुनौलो हुने विश्वास व्यक्त गरे। सकारात्मक सोच र सिर्जनात्मक कार्यमार्फत अघि बढ्न उनले सम्पूर्ण उद्योगीव्यवसायीलाई आग्रह गरे।
नेपालपत्र संवाददाता