ललितपुर बचत संघको आयोजनामा भइरहेको चौंथो सहकारी समिट–२०७८ को दोश्रो दिन पनि जारी रहेको छ । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले समसामियक विषयवस्तुमा कार्यपत्र प्रस्तुत गरेका छन् ।
अर्थमन्त्रालयका उपनिर्देशक हरिकुमार नेपालले सहकारीमा सम्पत्ति शुद्धिकरण र गोएमएल सफ्टवेयरको प्रयोग र रिपोर्टिङका बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । उनले सदस्यहरूकाे वर्गीकरण गरी ठूलाे काराेबार गर्ने सदस्यहरूकाे विषयमा सहकारीहरूले नियामक निकायलाइ सूचित गराउन सुझाए ।
त्यसैगरी ललितपुर महानगरपालिका प्रशासकीय अधिकृत गणेश अर्यालले सरकार र सहकारीबीचको अन्तरसम्बन्धका विषयमा चर्चा गरेका थिए । उनले सहकारी हरुले निस्वार्थ हिसाबले कुनैपनि बेला जहाँबाट पनि सदस्यहरुलाई सेवा दिनुपर्ने बताए । सहकारी अहिले विकासको चरणमा प्रवेश गरेको भएपनि यसलाई प्रवद्र्धन गर्न राज्यले अझै पनि भूमिका खेल्नुपर्ने उनले जनाए । सरकार र सहकारीकर्मीहरुको बीचमा तादाम्यताको अभावले सहकारी क्षेत्रले अझै पनि चाहेजस्तो गति लिन नसकेको उनको भनाई थियो । सहकारी सरकारको साझेदार भएकाले सहकारीमार्फत् गरिबी न्यूनिकरण, रोजगारी सिर्जना र सशक्तिकरणका लागि सहकारी आवश्यक भएको उनले स्पष्ट पारे ।
त्यसैगरी कार्यक्रममा डा. विकाशानन्द योगीले सफलताको पूर्वाधार र सफल जिवनको रोडम्याप, नेपाल प्रहरीको तर्फबाट सहकारीमा समुदायप्रतिको चासो तथा इन्फो डेभलपर्सले सहकारीमा सफ्टवेयरको विश्वसनीयताका विषयमा प्रशिक्षण दिएका थिए ।
समिटको पहिलो दिन राष्ट्रिय सहकारी बैंकका सिइओ बद्री गुरागाईंले कोष विभाजन, संरक्षित पुँजी फिर्ता कोष वितरण, सदस्यता केन्द्रियता अवधारण, कानुनी व्यवस्था र अवधारणा, पूर्व सचिव गोपीनाथ मैनालीले साकोस व्यवस्थापनामा सुशासन, सहकारीमा एकिकरणको अवसर र चुनौती, पूर्व राजदूत एवं मोटिभेटर महेश दाहालले सकारात्मक सोच सहितको सहकारी नेतृत्व र संघका अध्यक्ष रामहरि बजगाईंले संघको बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
समिट शुक्रबारसम्म चल्नेछ ।