बुधबार, भाद्र ३ गते २०८३

वैदेशिक व्यापार १४.४ प्रतिशतले विस्तार, व्यापार घाटा १२ खर्ब ६७ अर्ब माथि


बैशाख १४, २०८३ सोमबार
वैदेशिक व्यापार १४.४ प्रतिशतले विस्तार, व्यापार घाटा १२ खर्ब ६७ अर्ब माथि

 

काठमाण्डौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (साउन–चैत) मा नेपालको वैदेशिक व्यापार विस्तार भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल वैदेशिक व्यापार १४.४० प्रतिशतले बढेर १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापार १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबर रहेको थियो ।

तथ्यांकअनुसार नेपालमा आयात र निर्यात दुवै बढे पनि आयातको हिस्सा अत्यधिक भएकाले व्यापार घाटा अझै उच्च अवस्थामा रहेको देखिएको छ । नौ महिनामा नेपालले १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १३.८२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा आयात १३ खर्ब ९ अर्ब रुपैयाँ बराबर थियो ।

यसै अवधिमा निर्यात पनि उल्लेख्य रूपमा बढेको छ । चालु आवको पहिलो नौ महिनामा नेपालबाट २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा निर्यात १८.४६ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष सोही अवधिमा निर्यात १ खर्ब ८८ अर्ब रुपैयाँ बराबर थियो ।

निर्यातको वृद्धिदर आयातभन्दा उच्च देखिए पनि समग्र व्यापार संरचनामा आयातकै दबदबा कायम रहेको छ । फलस्वरूप व्यापार घाटा १३.०४ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ११ खर्ब २१ अर्ब रुपैयाँ थियो ।

तथ्यांकले नेपालको व्यापार संरचना अझै आयातमुखी रहेको स्पष्ट देखाएको छ । कुल व्यापारमा आयातको हिस्सा ८६.९९ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा १३.०१ प्रतिशत मात्र छ । यद्यपि अघिल्लो वर्षको तुलनामा निर्यातको हिस्सा केही सुधार भएको देखिन्छ । गत वर्ष कुल व्यापारमा निर्यातको हिस्सा १२.५७ प्रतिशत थियो भने आयातको हिस्सा ८७.४३ प्रतिशत थियो ।

त्यस्तै, आयात–निर्यात अनुपातमा पनि सुधार देखिएको छ । अघिल्लो वर्ष ६.९६ रहेको अनुपात घटेर ६.६९ मा झरेको छ । यसको अर्थ प्रत्येक एक रुपैयाँको निर्यात हुँदा नेपालले अझै करिब ६ रुपैयाँ ६९ पैसाको वस्तु आयात गरिरहेको छ । यद्यपि यो अनुपात घट्नु सकारात्मक संकेतका रूपमा हेरिएको छ, किनकि निर्यातको वृद्धिदर आयातभन्दा तुलनात्मक रूपमा तीव्र रहेको छ ।

पेट्रोलियम पदार्थ, सवारी साधन, औद्योगिक कच्चा पदार्थ तथा उपभोग्य वस्तुको आयात बढ्नुले कुल आयात उच्च बनाएको संकेत गर्दछ । अर्कोतर्फ, प्रशोधित खानेतेल, धागो, जडीबुटी, तयारी पोशाक तथा विद्युत् निर्यातमा आएको वृद्धिले निर्यात विस्तारमा योगदान पुर्‍याएको देखिन्छ ।