शुक्रबार, कार्तिक ७ गते २०८३

नेपाल राष्ट्र बैंक ७१औँ वर्षमाः स्थायित्व र विश्वसनीयतामा जोड


बैशाख १४, २०८३ सोमबार
नेपाल राष्ट्र बैंक ७१औँ वर्षमाः स्थायित्व र विश्वसनीयतामा जोड

काठमाण्डाै । नेपाल राष्ट्र बैंक ७१औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा जारी सन्देशमा राष्ट्र बैंकले मुलुकको आर्थिक स्थायित्व कायम राख्न आफू प्रतिबद्ध रहेको जनाएको छ। गभर्नर डा. विश्वनाथ पौडेलद्वारा जारी सन्देशमा सुरक्षित, सक्षम र विश्वसनीय बैंकिङ प्रणाली निर्माणलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ। उनले वित्तीय पहुँच विस्तार, सुरक्षित भुक्तानी प्रणालीको सुदृढीकरण तथा सर्वसाधारणको वित्तीय प्रणालीप्रतिको विश्वास अभिवृद्धिका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताएका छन्।

राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा भएको थियो। देशको मौद्रिक नीति निर्माण, मुद्रा व्यवस्थापन र बैंकिङ प्रणालीको नियमन गर्ने उद्देश्यसहित स्थापना गरिएको राष्ट्र बैंकले सात दशकभन्दा बढी समयदेखि नेपालको वित्तीय प्रणालीको नेतृत्व गर्दै आएको छ।

स्थापनाकालमा नेपालमा भारतीय मुद्रा प्रचलनमा रहेको तथा व्यवस्थित बैंकिङ प्रणाली कमजोर रहेको अवस्थामा राष्ट्र बैंकले नेपाली मुद्रा प्रणालीलाई संस्थागत बनाउने, विदेशी विनिमय व्यवस्थापन गर्ने र वित्तीय क्षेत्रलाई नियमन गर्ने जिम्मेवारी सम्हालेको थियो। पछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ लागू भएपछि केन्द्रीय बैंकको स्वायत्तता, स्वतन्त्रता र जिम्मेवारीलाई थप स्पष्ट र सुदृढ बनाइएको थियो।

राष्ट्र बैंकले मूल्य स्थिरता कायम राख्ने, शोधनान्तर स्थिति सन्तुलित बनाउने, विदेशी मुद्रा सञ्चिति संरक्षण गर्ने तथा मौद्रिक र विदेशी विनिमय नीति सञ्चालन गर्ने कार्य गर्दै आएको छ। साथै बैंक तथा वित्तीय संस्थाको नियमन, निरीक्षण, सुपरिवेक्षण र सुरक्षित भुक्तानी प्रणाली विकासमा पनि केन्द्रीय भूमिका निर्वाह गरिरहेको छ।