काठमाण्डाै । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना तीव्र रूपमा अघि बढाइएको छ। हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको आयोजनाले पहुँचमार्ग, सुरुङ, विद्युत्गृह र प्रसारण लाइन निर्माणलाई एकसाथ अगाडि बढाएको हो।
आयोजनाका अनुसार हाल बगरदेखि दोभानस्थित बाँधस्थलसम्म करिब १० किलोमिटर डाइभर्सन सडक निर्माण गरिएको छ। विद्युत गृहबाट निस्कने पानी व्यवस्थापनका लागि एक हजार १३० मिटर लामो टेलरेस सुरुङ खन्ने काम सुरु भइसकेको छ।
म्याग्दी र कुनाबाङ खोलाको दोभानमा बाँध निर्माण गरी पानीलाई डिसेन्डरमा सङ्कलन गरिनेछ। त्यसपछि पाइपलाइन र तीन हजार ६ सय मिटर लामो सुरुङमार्फत भूमिगत विद्युत गृहमा पुर्याइने पानीलाई ६०७ मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गरिनेछ। विद्युत गृहमा तीन वटा टर्बाइन जडान हुनेछन्।
‘रन अफ रिभर’ प्रकृतिको यस आयोजनामा २०९ मिटर ठाडो सुरुङ, २३० मिटर प्रेसर टनेल, ५८७ मिटर इनक्लाइन टनेल र ७५७ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ। आयोजनाबाट सुक्खायाममा ११७ दशमलव ८२ गिगावाट घण्टा र वर्षायाममा २६४ दशमलव ४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।
उत्पादित विद्युत् १३२ केभी क्षमताको डबल मल्टीसर्किट प्रसारण लाइनमार्फत डाँडाखेत सबस्टेसनमा जोडिनेछ। बगरदेखि सबस्टेसनसम्मको दूरी १६ दशमलव पाँच किलोमिटर रहेको छ।
करिब १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट २०८४ चैतदेखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। सिभिल निर्माण ठेकेदार गत पुसदेखि परिचालनमा रहेको र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
मुख्य सुरुङ निर्माणअघि विस्फोटक पदार्थ सुरक्षाका लागि भैँसीखर्कमा नेपाली सेनाको आधार शिविर स्थापना गर्ने तयारीसमेत गरिएको छ।
नेपालपत्र संवाददाता