काठमाण्डाै । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघको भूमिका अपरिहार्य रहेको बताएकी छिन्।
बिहीबार मन्त्रालयमा राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको भेटघाटमा मन्त्री रावलले सहकारी संकट समाधानका लागि सरकार र सहकारी अभियानबीच सहकार्य आवश्यक रहेको बताएकी हुन् ।
उनले बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया प्रभावकारी बनाउन तथा सहकारी अभियानलाई थप सशक्त बनाउन महासंघले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइन्। अहिले देखिएको समस्या समयमै समाधान गर्न नसके अवस्था झन् जटिल बन्ने उल्लेख गर्दै मन्त्री रावलले सरकारले जारी गरेको १०० बुँदे कार्यसूचीका आधारमा सहकारी क्षेत्रका समस्या प्राथमिकताका साथ समाधान गर्ने उल्लेख गरिन् ।
मन्त्री रावलले सहकारी व्यवसाय विकास तथा प्रवर्द्धनमा बाधक बनेका ऐन–कानुन संशोधन गर्न वा आवश्यक परे फास्ट ट्र्याकबाट नयाँ कानुन ल्याउन सरकार तयार रहेको स्पष्ट पारिन्। सहकारी क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सरकारले विभिन्न निर्णय गरिसकेको उल्लेख गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समिति लगायत सबै सरोकारवाला निकाय मिलेर अघि बढ्नुपर्ने उनले जिकिर गरिन् ।
भेटमा महासंघका कार्यवाहक अध्यक्ष पोखरेलले सहकारी क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सरकारसँग सहकार्य गर्न महासंघ सदैव तयार रहेको बताए। उनले राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई थप प्रभावकारी र सशक्त बनाउनुपर्ने, सहकारी ऐनलाई समयानुकूल संशोधन गर्नुपर्ने तथा सहकारी प्रवर्द्धन कोषलाई महासंघमार्फत तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने माग राखे ।
त्यसैगरी, समस्याग्रस्त सहकारी संस्थाका साना बचतकर्तालाई प्राथमिकतामा राखेर विशेष प्याकेजमार्फत राहत दिनुपर्ने सुझाव पनि उनले दिए । कार्यक्रममा मन्त्रालयका सचिव मदन भुजेल, महासंघका उपाध्यक्ष खेम बहादुर पाठक, सञ्चालक काशीचन्द्र बराल, महाप्रबन्धक डा. बाबुकाजी थापा तथा वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारी लगायतको सहभागिता रहेको थियो।
नेपालपत्र संवाददाता