काठमाडौं । नबिल बैंक लिमिटेड ले कृषि व्यवसायमा संलग्न व्यक्तिलाई लक्षित गर्दै विभिन्न १६ ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ ।
तालिमको सुरुवात जुम्लाको सिँजा गाउँपालिका बाट गरिएको बैंकले जनाएको छ । चालु आर्थिक वर्षभित्र थप १५ स्थानमा तालिम सञ्चालन गरिने बैंकले जनाएकाे छ ।
तालिममा सहभागीलाई बचत, बजेट, ऋण व्यवस्थापन, बीमा, लगानी तथा कृषि व्यवसायसम्बन्धी व्यावहारिक ज्ञान दिइनेछ । बाख्रापालन, बंगुरपालन, च्याउ तथा तरकारी खेतीजस्ता विषयमा पनि सीप प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले कार्यक्रमले ग्रामीण क्षेत्रमा उद्यमशीलता विकास र आत्मनिर्भरता बढाउन सहयोग पुग्ने बताएका छन् ।
नेपालपत्र संवाददाता