शुक्रबार, कार्तिक ७ गते २०८३

प्रधानमन्त्री शाहले गरे अर्थ मन्त्री तथा याेजना आयोगका पदाधिकारीसँग छलफल


बैशाख ८, २०८३ मंगलबार
प्रधानमन्त्री शाहले गरे अर्थ मन्त्री तथा याेजना आयोगका पदाधिकारीसँग छलफल

काठमाण्डाै। प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग उच्चस्तरीय छलफल गरेका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको उक्त बैठकमा नीति अनुसन्धान प्रतिष्ठानका प्रतिनिधिहरूको पनि सहभागिता रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

बैठकमा सरकारका राष्ट्रिय प्राथमिकताका क्षेत्र पहिचान गर्ने र ती प्राथमिकतालाई आगामी बजेट तथा कार्यक्रमसँग प्रभावकारी रूपमा आबद्ध गर्ने विषयमा केन्द्रित छलफल भएको थियो।

छलफलका क्रममा प्रधानमन्त्री शाहले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता संस्थाहरूको वर्तमान भूमिका, उनीहरूले तयार पारेका कार्यक्रम तथा बजेटको सान्दर्भिकताबारे चासो व्यक्त गरेका थिए।

छलफलमा प्रधानमन्त्री शाहले देशको अर्थतन्त्रलाई गतिशील बनाउँदै जनअपेक्षा अनुरूपका कार्य अघि बढाउन सबै निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेकोमा जोड दिए । 

बैठकमा सहभागी निकायहरूले आफ्ना कार्यक्षेत्रमा देखिएका समस्या तथा कार्यसम्पादन सुधारका लागि आवश्यक कदमबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।