काठमाण्डाै । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले स्थापनाको २५ वर्ष पूरा गर्दै रजत जयन्ती वर्षमा प्रवेश गरेको अवसरमा अध्यक्ष शिवशंकर मानन्धरले संस्था सदस्यमुखी सेवा, पारदर्शिता र प्रविधिमैत्री रूपान्तरणमा अझ सशक्त रूपमा अघि बढ्ने बताएका छन्।
अध्यक्ष मानन्धरले स्थापना कालमा २५ जना र सानो पूँजीबाट सुरु भएको संस्था आज हजारौं सदस्य र अर्बौँको कारोबारमा विस्तार भएको उल्लेख गर्दै यस सफलतामा सदस्य, कर्मचारी र सरोकारवालाको योगदान रहेको बताए। उनले सहकारीमार्फत ग्रामीण तथा शहरी क्षेत्रका सर्वसाधारणलाई वित्तीय पहुँच विस्तार गरी जीवनस्तर सुधारमा योगदान पुगेको दाबी गरे।
उनका अनुसार संस्थाले डिजिटल सेवा विस्तार, सुशासन र जोखिम व्यवस्थापनलाई प्राथमिकता दिँदै सदस्यको बचत सुरक्षालाई सुनिश्चित गर्ने नीति अपनाएको छ। साथै, शिक्षा, स्वास्थ्य, उद्यम प्रवर्द्धन, बीमा तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रममार्फत सदस्यको समग्र सशक्तीकरणमा ध्यान केन्द्रित गरिएको उनले बताए।
मानन्धरले सहकारी क्षेत्रप्रति बढ्दो चुनौतीबीच पारदर्शिता, उत्तरदायित्व र अनुशासनलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा संस्थालाई नमूना सहकारीका रूपमा स्थापित गर्ने लक्ष्यसमेत व्यक्त गरे।
१०३ जनाले गरे रक्तदान
स्थापना दिवसकाे अवसरमा संस्थाले गरेकाे एक कार्यक्रममा १०३ जनाले रक्तदान गरेका थिए। मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोग, चन्द्रागिरी साकोस तथा लायन्स क्लब अफ चन्द्रागिरीको संयुक्त आयोजनामा हरेक वर्षझैँ “रक्तदान महादान” भन्ने मूल नारासहित रक्तदान कार्यक्रम सम्पन्न गरेको हाे ।

नेपालपत्र संवाददाता