शनिबार, आश्विन १७ गते २०८३

सहकारी संस्थाहरुमा बढ्यो ऋणको माग

मंसिर ७, २०७८ मंगलबार
सहकारी संस्थाहरुमा बढ्यो ऋणको माग

 

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको अभाव भएपछि सहकारी संस्थाहरूमा ऋणको माग बढ्न थालेको छ । बैंकहरूले सामान्य अवस्था ऋण दिन नसक्ने भएपछि सहकारीमा ऋणको माग बढेको हो । तुलनात्मक रूपमा बैंकको भन्दा सहकारीमा ऋणको ब्याज महँगो हुने भएकाले विगतमा सहकारीमा सदस्य बनेकाहरू पनि ऋण लिनका लागि भने बैंकतर्फ नै आकर्षित हुने गर्थे । 

पछिल्लो समय वित्तीय क्षेत्रमा तरलताको चरम अभाव सृजना भएसँगै सहकारी संस्थामा ऋणको माग बढेको हो । अर्कोतर्फ सहकारी विभागले सन्दर्भ ब्याजदर तोकेर ऋणमा १४.७५ प्रतिशत ब्याज र १ प्रतिशत मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरेकाले विगतमा जस्तो सदस्यहरुले चर्को ब्याज तिर्नुपर्ने अवस्था अहिले छैन । यसले गर्दा पनि बैंकबाट नपाएपनि सहकारीबाट ऋण लिएर आफ्नो गर्जो टार्ने र व्यापार व्यवसाय गर्नेको संख्या बढेको छ । 

अर्कोतर्फ बैंकहरुले तरलता अभावको नाममा एक्कासी मुद्दती खातामा ब्याज बढाएसँग ऋणको ब्याज पनि सहकारी सरह नै पुग्न लागेको छ । त्यस्तो अवस्थामा एक त बैंकले ऋण दिन नसक्ने र अर्कोतर्फ ऋण पाएपनि प्रक्रिया पुरयाउन झञ्झटिलो भएकाले सहकारीतर्फ ऋण लिनेको आकर्षण बढेको हो । 

भक्तपुर बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु केहिसमय यता संस्थाहरुमा तरलता कम हुँदै गएको बताउँछन् । प्रारम्भिक संस्थाहरुमा ऋणको माग बढेको र सँगै बचत झिक्नेहरुपनि बढ्दा तरलता कम हुँदै गएको उनले बताए । ‘बैंकहरुले संस्थागत निक्षेपमा एक प्रतिशत कम र व्यक्तिगत निक्षेपमा एक प्रतिशत बढि ब्याज दिएका छन् । यसले गर्दा सहकारीबाट बचत झिकेर बैंकमा राख्नेको संख्या बढेको हुनसक्छ,’ उनले भने ‘त्यसैगरी बजारमा खुलेका केहि नयाँ बहुद्देश्यीय सहकारीहरुले पनि बढि ब्याजको लोभ देखाएर बचत लगेका छन् ।’

बैंकहरुले निक्षेपमा दिने ब्याजदरमा एक प्रतिशतको अन्तर गरेर सहकारीहरुलाई प्रतिष्पर्धामा नै आउन नदिने तालमेल गरेको हुनसक्ने उनको अनुमान छ । यसले गर्दा दीर्घकाललाई भन्दा पनि तत्काललाई केहि असर पुग्ने उनले बताए । 

ब्याजदरलाई नियन्त्रणमा राख्न सहकारी विभाग र केन्द्रिय संघहरुले भुमिका खेल्नुपर्ने उनको भनाई छ । समुदायमा आधारित सहकारी संस्थाहरुले बजारको अवस्था हेरेर ब्याजदरमा आवश्यक हेरफेर गर्नु अहिले उपयुक्त हुने उनको सुझाव छ । 

त्यसैगरी मध्यपुर थिमीको शंखधर चोकमा रहको शुभश्री साकोसका प्रबन्ध सञ्चालक रत्नमान श्रेष्ठ संस्थामा पर्याप्त तरलता रहेको र ऋण लगानीमा कुनै समस्या नभएको बताउँछन् । पछिल्लो समयमा ठूलो परिमाणमा समेत ऋणको माग आएको हुँदा ऋण समितिले फाइल अध्ययन गरिरहेको उनले बताए । ऋणीहरुको व्यापारव्यवसाय, आम्दानीको श्रोत र धितोलाई मुल्यांकन गरेर मात्र संस्थाले ऋण लगानी गर्ने उनले जनाए । एकाध महिनाभित्र ५ देखि ७ करोडसम्म ऋण लगानी योजनामा आफुहरु रहेको उनले बताए । 

त्यसैगरी भक्तपुरको बालकुमारी साकोसको व्यवस्थापक सुजेन्द्र श्रेष्ठ संस्थामा २७ प्रतिशतको हाराहारी तरलता रहेको बताउँछन् । संस्थाले सदस्यहरुको माग अनुसार ऋण लगानी गर्न सक्ने उनले बताए । अहिले बैंकहरुले ऋण लगानी रोकेकाले ऋणको माग गर्दै सहकारी संस्थामा धाउनेको संख्या बढेको उनले उल्लेख गरे । संस्थाले पछिल्लो डेढ महिनामा मात्रै १२ करोड ऋण लगानी बढाएको छ । बैंकहरुले ब्याजदर बढाएकाले संस्थाले दिने मुद्दती निक्षेपको व्याजदर १०.५ देखि ११ प्रतिशत र ऋण लगानीको ब्याजदर पनि बढाएर १४ प्रतिशत पुर्‍य ाएको उनले जानकारी दिए । दैनिक बचतमा भन्दापनि मुद्दती बचतमा सदस्यहरुले ब्याजका लागि बार्गेनिङ गर्न थालेको उनले जनाए । 

बैंक तथा वित्तीय संस्थाले अझै केहि समय तरतला अभावका कारण ऋण लगानीमा कडाइ गर्ने देखिएकाले सहकारी संस्थाहरुमा ऋणको माग बढ्ने देखिन्छ ।