बुधबार, भाद्र ३ गते २०८३

साेमबारबाट नेप्सेमा नयाँ नियम: सर्किट दुई तहमा, सीमा १५ प्रतिशत


बैशाख ६, २०८३ आइतबार
साेमबारबाट नेप्सेमा नयाँ नियम:  सर्किट दुई तहमा, सीमा १५ प्रतिशत

काठमाण्डाै । सोमबारदेखि सेयर बजारमा नयाँ सर्किट ब्रेकर र मूल्य सीमासम्बन्धी व्यवस्था लागू हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विनियमावली संशोधन गर्दै दैनिक मूल्य उतारचढावको सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको हो। यो व्यवस्था नेपाल धितोपत्र बोर्ड (सेबोन) को स्वीकृतिपछि कार्यान्वयनमा आउन लागेको हो।

नयाँ व्यवस्थाअनुसार प्रिओपन सेसनको मूल्य सीमा २ प्रतिशतबाट बढाएर ५ प्रतिशत बनाइएको छ। सर्किट ब्रेकर प्रणाली पनि परिमार्जन गरिएको छ। अब कारोबार सुरु भएको दुई घण्टाभित्र सूचक ५ प्रतिशतले घटबढ भए १५ मिनेटका लागि कारोबार रोकिनेछ। ८ प्रतिशतको उतारचढाव भएमा भने सो दिनभरि कारोबार बन्द गरिनेछ। यसअघि रहेको ४, ५ र ६ प्रतिशतका तीन तहको सर्किट प्रणालीलाई हटाएर दुई तहमा सीमित गरिएको हो। 

नेप्सेले बजारलाई बढी चलायमान र यथार्थपरक बनाउन यस्तो परिवर्तन गरेको जनाएको छ। मूल्य दायरा फराकिलो बनाउँदा माग तथा आपूर्तिअनुसार मूल्य छिटो समायोजन हुने र कृत्रिम रूपमा थुनिएको मूल्य प्रणाली खुला हुने अपेक्षा गरिएको छ। यसबाट लगानीकर्ताले बढी अवसर पाउनेछन्। मूल्य दायरा बढेपछि छोटो समयमा खरिदबिक्री गर्न सकिने भएकाले कारोबारको मात्रा बढ्ने सम्भावना छ। सक्रिय ट्रेडिङ गर्ने लगानीकर्ता यसबाट बढी लाभान्वित हुन सक्नेछन्। कम्पनीका सेयर मूल्य पनि बजारको वास्तविक अवस्थाअनुसार छिटो निर्धारण हुने देखिन्छ।

तर यसले केहि जोखिम बढ्ने सम्भावना रहेकाे छ। मूल्य १५ प्रतिशतसम्म तलमाथि हुन सक्ने भएकाले छोटो अवधिमा घाटा पनि बढ्न सक्छ। विशेषगरी साना तथा अनुभवहीन लगानीकर्ता उच्च उतारचढावबाट प्रभावित हुन सक्छन्। त्यसैले जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।  नयाँ व्यवस्था बजारलाई गतिशील र लचिलो बनाउने उद्देश्यका साथ ल्याइएको यस व्यवस्थाको प्रभाव भने लगानीकर्ताको रणनीति र बजार व्यवहारमा निर्भर रहनेछ।