काठमाण्डौ। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न पुनः ठूलो परिमाणमा निक्षेप बोलकबोल आह्वान गरेको छ । मौद्रिक व्यवस्थापन विभागले ५६ दिन अवधिको रु. १०० अर्ब बराबरको निक्षेप संकलन उपकरणका लागि २०८३ वैशाख ४ गते दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार सोही दिन निष्काशन हुने उक्त निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज २०८३ जेठ २९ गते भुक्तानी गरिनेछ । न्यूनतम रु. १० करोडदेखि ५ करोड रुपैयाँको गुणनफलमा बोल दिन सकिने व्यवस्था गरिएको छ ।
यस उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले पछिल्लो समय बढ्दो तरलता व्यवस्थापन गर्न निरन्तर रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
नेपालपत्र संवाददाता