ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भोलिबाट चौंथो चौथो ललितपुर साकोस समिट–२०७८ हुने भएको छ ।
मंसीर ८ देखि १० गतेसम्म गोदावरीको होटेल भ्यु भृकुटीमा ३ दिने समिट हुन लागेको हो । समिटको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष रामहरि बजगाईंले जानकारी दिए ।
उपराष्ट्रपति नन्दकुमार पुन पासाङले उद्घाटन गर्ने उक्त कार्यक्रममा सहकारी ऐन २०७४, नियमावली २०७५, प्रदेश र स्थानीय तहका ऐन, नियमावली, विभिन्न मापदण्ड, निर्देशन, सम्पत्ति शुद्धिकरणका विषयमा सहभागिहरुलाई प्रशिक्षित गराउने उनले बताए ।
जिल्लाभर रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको विकास र प्रवद्र्धनका लागि संघले विगतदेखि यस्ता समिट आयोजना गर्दै आएको र यो चौंथो समिट भएको उनले बताए । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुले सहजिकरण गर्ने भएका छन् । सहकारी अभियानमा देखिएको विकृति र विसंगतिलाई न्यूनिकरण गर्दै सुशासनयुक्त संस्थामार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकारी संस्थालाई जोड्न यसले मद्दत पुग्ने अध्यक्ष बजगाईंको भनाई छ ।
जिल्ला भित्र ६ सयको हाराहारीमा बचत तथा ऋण सहकारी संस्था छन् । ती संस्थाको अभिभावक संघको रुपमा बचत संघ सधैं क्रियाशील रहेको छ । अहिले सहकारी ऐन २०७४ र नियमावली २०७५ लाई कार्यान्वयन गर्नुपर्ने अवस्था छ । सम्पत्ति शुद्धिकरण निर्देशिका कार्यान्वयन र सहकारीका विद्यमान समस्या तथा चुनौतीहरुको विषयमा गहन छलफल गरी एउटा निचोड निकाल्नुपर्ने छ । यसैको सेरोफेरोमा समिट गर्न लागिएको अध्यक्ष बजगाईंले बताए । जिल्लाको सहकारी अभियानलाई कस्तो बनाउने भन्ने सन्दर्भमा आफ्ना सदस्य संस्थासँग गहन छलफल र बहस गरी निचोडमा पुग्ने उद्देश्य समिटको छ ।
साकोस भित्रका संस्थागत समस्याहरुको सम्बोधन भई संस्थाहरुलाई सुदृढिकरण गरी दिगो र स्वस्थ संस्था बनाउन ललितपुर साकोस समिट महत्वपूर्ण कोशेढुंगा हुने अपेक्षा गरिएको छ ।
यस अघिका ३ वटा समिट अन्य जिल्लामा आयोजना गरिएको र चौंथो समिट भने ललितपुर जिल्लामा नै गर्ने तयारी भए बमोजिम होटल भ्यु भृकुटीमा गरिन लागेको हो । उनले थपे ‘ललितपुर साकोस समिट भन्ने र अन्य जिल्लामा गएर समिट गर्ने परिपाटी अन्त्य गरी ललितपुरमा नै यो समिट गर्न खोजेका हौं ।’
संघले यस अघि २०७६ मा नै चौंथो समिटको सम्पूर्ण तयारी गरेको भएतापनि कोभिड १९ को कारण अन्तिम समयमा आएर स्थगन भएको थियो ।
‘ललितपुरमा ३ प्रकारका सहकारी संस्था छन् । एउटा पूर्ण समुदायमा आधारित संस्था, जसले सदस्यको आर्थिक सामाजिक रुपान्तरणको काम गरिराखेका छन् । अर्को विशुद्ध लहैलहैमा खुलेका संस्था, अरुले खोलेपछि हामीले किन नखोल्ने, यो व्यवसाय गर्न त असाध्यै राम्रो रहेछ भन्ने बुझाईले खुलेका । उनले थपे तेश्रो, विशुद्ध रुपमा कमाउनका लागि खुलेका सहकारी जसबाट सीमित व्यक्तिले फाईदा लिइरहेका छन् । तर पनि अरु जिल्लाको तुलनामा यहाँको सहकारी अभियान राम्रो छ । प्रारम्भिक संस्था, संघ र स्थानीय सरकार बीचको सम्बन्धलाई पनि हामीले प्रगाढ रुपमा अगाडि बढाएका छौं,’ उनले भने । विशेषतः आफ्ना संस्थाहरुलाई दिगो बनाउन र अभियानमा भएका समस्याहरुलाई हल गर्नको निम्ति यसले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त छौं ।
'संघले दिगो साकोसमार्फत सम्वृद्ध समाज निर्माणको भिजन अगाडि सारेको छ । यो भिजन अन्तर्गत नै हामी अगाडि बढेका छौं । विशेषतः संघको आधार नै जिल्ला भरका प्रारम्भिक संस्थाहरु हुन् । प्रारम्भिक संस्थाहरुको क्षमतामा आवश्यकता अनुसार वृद्धि गरी समुदायमा आधारित प्रतिस्पर्धी वित्तीय संस्थाहरु निर्माण गर्ने हाम्रो ध्येय हो । बचत तथा ऋण सहकारीले नै आर्थिक सम्वृद्धिको मुद्दालाई सम्बोधन गर्छ भने हाम्रो विश्वास हो । ललितपुरमा ६ वटा स्थानीय तह छन् । प्रत्येक स्थानीय तहका एउटा सहकारीले बेरोजगार, न्यून आय भएका र विपन्न वर्गलाई माथि उठाउन काम गर्नको निम्ति हामीले अपील गरेका छौं । सहकारीहरु नीति, विधि र प्रविधिमा आधारित भएर अगाडि बढ्नको निम्ति प्राविधिक संस्कारको पनि विकास गर्नुपर्नेछ,' उनले भने ‘नीतिमा संस्थाहरु चल्नुपर्छ । विधि बनाएर संस्थाहरुलाई अगाडि बढाउनु छ । यसका लागि पनि हामीले काम गरिरहेका छौं,’ उनले थपे, शिक्षा, तालिमलाई अगाडि बढाएका छौं । संस्थाहरुलाई निःशुल्क तालिम दिँदै आएका छौं । संस्थाहरुले प्रशिक्षक माग्नासाथ निःशुल्क उपलब्ध गराएका छौं ।’
