शुक्रबार, कार्तिक ७ गते २०८३

घरजग्गा पुनरुत्थानको संकेतः कारोबार संख्या, कर्जा र मूल्य केहि सुधार


चैत्र ३०, २०८२ सोमबार
घरजग्गा पुनरुत्थानको संकेतः कारोबार संख्या, कर्जा र मूल्य केहि सुधार

 

काठमाडौं । पछिल्ला तीन आर्थिक वर्षको विश्लेषणले नेपालको रियल इस्टेट बजारमा क्रमशः सुधार र स्थायित्वको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार घरजग्गा कारोबारमा मौसमी उतारचढाव भए पनि समग्र प्रवृत्ति विस्तारतर्फ उन्मुख देखिएको हो।

प्रतिवेदन अनुसार रजिनामा कारोबारका आधारमा हेर्दा पहिलो त्रैमासमा कारोबार कम र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने मौसमी प्रवृत्ति देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा सबैभन्दा धेरै करिब ४ लाख ५६ हजार पटक कारोबार भएको छ, जसले बजारमा पुनः सक्रियता बढेको संकेत गर्छ।

प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढी कारोबार भएको छ भने लुम्बिनी र कोशी त्यसपछि छन्। कर्णाली र सुदूरपश्चिममा भने कारोबार न्यून रहेको देखिन्छ। जग्गाको क्षेत्रफलका हिसाबले पनि मधेश अग्रस्थानमा रहेको छ, जसले त्यहाँ ठूला प्लट (२० आना माथि) को माग बढी रहेको संकेत गर्छ। अन्य प्रदेशमा भने २.५ देखि १० आना बीचका प्लटमा बढी कारोबार भएको देखिएको छ।

मूल्यका आधारमा बागमती प्रदेश अग्रणी देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा मात्रै बागमतीमा ५१.३७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ भने राष्ट्रिय स्तरमा यो रकम १२७.६१ अर्ब पुगेको छ। महानगर तथा उपमहानगर क्षेत्रमा मध्यम आकारका (५–१० आना) जग्गामा सबैभन्दा बढी कारोबार भएको देखिन्छ।

बैंकिङ पक्षमा पनि रियल इस्टेट क्षेत्रप्रतिको आकर्षण कायम रहेको छ। आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म रियल इस्टेट कर्जा ७२.४१ प्रतिशतले बढेको छ भने आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ। आवासीय कर्जा तुलनात्मक रूपमा स्थिर रहँदा रियल इस्टेट कर्जामा केही समय मन्दी आए पनि पुनः तीव्र सुधार भएको देखिन्छ।

यस्तै, घरजग्गा कारोबारबाट प्राप्त सरकारी राजस्वमा पनि उतारचढावपछि पुनः सुधार देखिएको छ। समग्रमा हेर्दा पर्याप्त तरलता, कर्जा विस्तार र मौसमी कारोबारको प्रभावबीच नेपालको रियल इस्टेट बजार विस्तारोन्मुख रहेको निष्कर्ष प्रतिवेदनले औंल्याएको छ।