लोकनारायण सुबेदी
फेरि अर्को बर्ष शुरु हुँदैछ । सम्बतसर फेरिदैछ । अनि यो दिनलाई हामीले नयाँ बर्षको शुरुवात मानेर एउटा पर्बजस्तो हरेक बर्ष मनाउने गर्दछौ । जब कि सत्य कुरा के हो भने हरेक दिन नयाँ हुन्छ । हरेक रात नयाँ हुन्छ । तर यो नयाँ दिनलाई हामी सधै हेर्ने देख्ने गर्दैनौं । शायद त्यसैले बर्षको एउटा दिनलाई नयाँ दिनकोरुपमा मानेर हेर्ने देख्ने प्रयास गर्ने गर्दै आएकाछौं । यद्यपि कुनै पनि दिन पुरानो फिर्ता भएर आउँदैन । हरेक दिन नयाँ नै हुन्छ । तर हामीले त हाम्रो पूरै जीवनलाई नै पुरानो तुल्याइदिएका छौं । त्यस्तो अबस्थामा नयाँ खोजी हरेकको मनमा आउने गर्दछ । अनि बर्षको कुनै एउटा दिनलाई हामी नयाँ दिन मानेर त्यो खोजलाई पुरा गरेको ठान्दछौ ।
बास्तवमा यस बिषयमा सोच्नै पर्ने कुरा छ भने जसको पुरै बर्ष पुरानो हुन्छ भने त्यसको एक दिन किन नयाँ हुन्छ ? जसको पूरै साललाई पुरानो मानेर हेर्ने आदत छ भने उसले एक दिनलाई नयाँ भनेर कसरी हेर्ने गर्दो होला ? किनकि हेर्नेवाला त उही मानिसै हो । ऊ आफै त बद्लिएको छैन । वास्तवमा जोसँग ताजा मन छ उसले हरेक चीजलाई ताजा र नयाँ तुल्याइदिन्छ । तर हामीसँग ताजा मन छैन । यसकारण हमी चीज बस्तुलाई नयाँ भनेर हेर्ने गर्दछौं । घरमा धेरैले नयाँ रंग रोगन गर्ने गर्दछन्, पुराना कपडाको ठाउमा नयाँ कपडा फेरिन्छन् । पुरानो सवारीको ठाउमा नयाँ सवारी चलाइन्छ । हामीले यसरी चीज बस्तुहरुलाई नयाँ तुल्याँउँदछौ, किनभने नयाँ मन हामीसँग छैन । अनि नयाँ नयाँ चीजले कतिञ्जेल धोका दिन्छन् हामीलाई ? नयाँ कपडा कतिञ्जेल नयाँ रहन्छन् ? ती त एक पटक लगाइसकेपछि पुरानोमा दरिन्छन् ।
नयाँ र पुरानाका बीचको दुरी कति हुन्छ ? जबसम्म प्राप्त हुँदैन तबसम्म नयाँ मानिन्छ । प्राप्त भइसकेपछि पुरानो हुन शुरु हुन्छ । अनि जुन हाम्रो मनले हरेक कुरालाई पुरानो ठान्छ या मान्छ त्यसले त ‘आज’लाई पनि पुरानै त मान्दछ । अनि त नयाँको धोका पैदा गर्नका लागि नयाँ कपडा, नयाँ उत्सब, नयाँ गीत संगीत सब पुराना तर फेरि पनि हामी नयाँपनको आस पैदा गर्ने गर्दछौं । यो एउटा चलेको चलन अनायाश हामी मानिरहेका छौं । केही भएकोलाई नभएको जस्तो र केही नभएकोलाई भएको जस्तो गरेर । वास्तवमा कुनै सोच बिचार नगरीकन परम्परालाई दोहोर्याइरहेका हुन्छौ हामी । त्यसैले त हामी परम्पराबादी छौं नि !
यद्यपि यस सम्बन्धमा एकजना दार्शनिक ओशोको फरक स्वर गुञ्जिएको पाइन्छ । उनले मानिसलाई आफ्नो तन्द्राबाट जगाएर भन्दछन् – ‘उत्सब हाम्रो दुःखी चित्तको लक्षण हो । चित्त दुखी छ साल भरी, एकाध दिन हामी उत्सब मनाएर खुशी हुने या खुशी भएको बहानाबाजी गर्ने गर्दछौं । त्यो खुशी एकदमै थोपरिएको जस्तो हुन्छ, किनभने कुनै दिनले कसैलाई कसरी खुशी तुल्याउने गर्दछ र ? यदि कोही हिजो उदास थियो भने आज एकाएक उ कसरी खुशी हुन सक्दछ र ? खुशी मनमनै एकाएक पैदा होला र ?
जबसम्म दुनियामा दुखी मानिसहरु हुन्छन् तबसम्म मनोरञ्जनका साधनहरु हुन्छन् । जुन दिन मानिस आनन्दित होला त्यस दिन कुनै पनि मनोरञ्जनका साधन बिलुप्त भएर जान्छन् । त्यसैले दुनियाँमा जति दुखी मानिस हुन्छन् त्यति नै बढी मनोञ्जनका साधनहरुको खोजी भइराख्दछ । बिहानदेखि बेलुका नसुतेसम्म मनोरञ्जनको आवश्यकता हुन्छ । किनभने मानिस दुःखी हुँदै गइरहेको हुन्छ।
केवल दुःखी मानिसले उत्सबको बिकास गरेका हुन् । अनि केवल पुराना बन्यो भन्ने चिन्तामा जसमा धूलै धूलो जमेको छ त्यसले नयाँ दिन, नयाँ साल यी सबै कुराको बिकास गर्दछ । अनि यसरी केही बेरका लागि धोका पैदा गर्दछ । कतिञ्जेल टिक्छ नयाँ दिन ? भोली त फेरि पुरानो दिन शुरु हुन थाल्नेछ । तर पनि एक दिनका लागि मानिले आफुलाई नै झट्का दिए जसरी झार्न चाहन्छ सारा खरानीलाई सारा धूलोलाई टक्टक्याए जस्तो गरी । यसबाट त केही हुनेवाला छैन, छ र ?
प्रश्न के हो त भने हरेक दिन नयाँ चित्त कसरी हुन सक्छ ? यस्तो एउटा नयाँ चित्तका लागि सबैभन्दा पहिला आफ्नो मन मस्तिष्कमा जहाँ जहाँ पुराना कुरा हाबी भएर लामो समयदिख टाँसिएर रहेका छन् तिनलाई सचेततापूर्बक छोड्न प्रयास गनुर्पछ । यो प्रयास बर्षमा एक दिन होइन प्रतिदिन र प्रतिपल गर्नु पर्ने हुन्छ । किनकि मनले निरन्तर धूलो एकत्र गरिरहन्छ । जसरी हरेक दिन शरीर स्नान गर्ने गरिन्छ त्यसरी नै मनलाई पनि स्नान गर्नु पर्दछ ।यसरी मानिसले हरेक दिन नयाँपन महसुश गर्दछ ।
जीवन एउटा धारा हो, एउटा बहाव हो र यो रोजै नयाँ हुन्छ । यदि हामी पुराना हुन गयौ भने पछाडि पर्दछौं । यदि हमी पनि नयाँ भयौ भने जीवनसँगसँगै बहन पाउँदछौं । यसरी बगेर हेरियो भने शायद सबै दिन नयाँ हुनजानेछन् । सबै दिन खुशीका दिन हुनेछन् । पुरानोलाई पक्रिन छोडेर नयालाई अंगीकार गरिन थाल्यो भने हरेक दिन नबीन हुन्छन् । होइन त कि कसो ?
त्यसैले नयाँ र पुरानको बारेमा प्रष्ट हुँदा पुराना गलतलार्इ फेर्ने,ब दल्ने र नयाँ सहीलार्इ ग्रहण गर्ने वा सही पुरानो र सही नयाँलार्इ जोड्नेतिर हामी लाग्नु पर्ने हुन्छ । असल असललार्इ जोड्ने र खराब खराबलार्इ छोड्ने यही नै नयाँ बर्ष मनाउनुको सार्थकता पनि हो । यसर्थ जीवनोपयोगी, समाजोपयोगी ती सबै कुरा नयाँ हुन्छन् किनकि ती नबीकरण गर्न अनुसरण गर्न योग्य हुन्छन्र । जीबन र जगतका लागि सार्थक र उपयोगी नहुने कुरा ती मानिसका लागि मानब समाजका लागि पनि नयाँ कुरा होइनन् ।
यस किसिमले जुन पुरानो असमानता, गरीबी, अभाव, असुरक्षा, अन्याय, दमन र दबावमा परेर मनिनस मानब समाज बाच्नु परिरहेको छ ती सबै पुराना कुरा हुन् । तिललार्इ बदल्नु र समानता, न्याय, सम्पन्नता, सुरक्षा र सुनिश्चितता ल्याउनु नयाँ हो, तिनलार्इ अझ सुसँस्कृत तुल्याउनु र मानब जीवनका लागि सार्थक तुल्याउनु नयाँ दिन, नयाँ बर्ष जे पनि हुनसक्छ । यसरी मात्र नब बर्षको शुभकामना दिनु लिनुको पनि अर्थ खुल्ला !