शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारीहरूमा स्पष्ट निर्णय लेखनको अभावः सुधारका लागि भक्तपुरमा बचत संघद्वारा तालिम


चैत्र ३०, २०८२ सोमबार
सहकारीहरूमा स्पष्ट निर्णय लेखनको अभावः सुधारका लागि भक्तपुरमा बचत संघद्वारा तालिम

 

भक्तपुर । सहकारी संस्थाहरूमा निर्णय प्रक्रिया अपूरो र अस्पष्ट देखिँदा सुशासनमा चुनौती बढिरहेको निष्कर्षसँगै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले ‘निर्णय लेखन तालिम’ आयोजना गरेको छ। सहकारी ऐन, नियम र सिद्धान्तअनुसार बैठकका निर्णयहरूलाई स्पष्ट, कानुनी र व्यावहारिक बनाउन सघाउ पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको संघले जनाएकाे छ।

तालिममा जिल्लाभरका बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, उपसमिति सदस्य र व्यवस्थापक गरी ३५ जनाको सहभागिता रहेको थियो। तालिमको सहजीकरण बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले गरेका थिए।

समापन कार्यक्रममा संघका अध्यक्ष हरि कृष्ण बल्लले अनुगमनका क्रममा धेरै सहकारीका निर्णय अपूरा र अस्पष्ट पाइने गरेको उल्लेख गरे। उनले स्पष्ट र पारदर्शी निर्णयले मात्र संस्थाको जवाफदेहिता बढ्ने र अनुगमन सहज हुने बताउँदै सिकेका कुरा व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गरे।

कार्यक्रमका सभापति तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक राजकुमार लघुले संघले सहकारीहरूको सुदृढीकरणका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञानले संस्थागत कामकारबाही र वैधानिक कागजात व्यवस्थापनमा सहयोग पुग्ने बताए । 

कार्यक्रममा उपसमिति सदस्य सत्यनारायण पक्काले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन भिमसेन श्रेष्ठले गरेका थिए। सहभागीहरूमध्ये इन्दिरा पोखरेल र केपी सुवालले तालिमबाट आवश्यक ज्ञान प्राप्त भएको भन्दै यस्ता कार्यक्रमलाई संस्थागत रूपमा अनिवार्य बनाउनु पर्ने धारणा राखेका थिए।